जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार ०८:४७

सीआईबीले गर्यो थप एक चिकित्सक पक्राउ, समातिनेको चिकित्सकको संख्या ६ पुग्यो


काठमाडौं, साउन २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।

ब्युरोले बिहीबार यसमा कांग्रेस सांसद सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । मोरङ ३ बाट सांसद् निर्वाचित शर्माले १५ दिनअघि सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभएको थियो ।

बिहीबार सीआईबीले शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ ।