जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १६:३३

मोटरसाइकल चोरीको सूचना प्रहरीलाई जाने जीपीएस प्रविधि ’लोकोमो’ नेपालमा शुरु, महिलालाई रात्रीकालिन यात्रा सुरक्षित हुने


काठमाडौं, साउन २६ । घर, अफिस, तथा सुरक्षित पार्किंङ बाटै पनि नेपालमा दैनिक ५ वटासम्म दुइ–पांग्रे सवारी साधन हराउने र चोरी हुने गर्छ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्याहरु प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने देखिएको छ ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफ.सी.सी. र नेपालकै संचार मञ्त्रालयको स्वीकृतिपछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुयार्याउने उद्देश्यसहित जी.पी.एस. प्रविधि मा आधारित ’लोकोमो’ नेपालको बजारमा औपचारिक रूपमा प्रवेश भएको छ । लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सड़क सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरज सिंह ठकुरी बताउनु हुन्छ ।

लोकोमो कार्य बिभाग प्रमुख अनिता देवकोटाका अनुसार कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एपबाट ’स्मार्ट लक’ गर्नुहोस, चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन । कुनै अनधिकृत व्यक्तिले लगि हाले पनि मोबाइल फोन बाटै आफ्नो मोटर साइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधन को लोकेशन पत्ता लगाउन सकिने छ ।

तर त्यति हुनु अगाडि नै लोकोमोले मोबाइलमा सूचना पठाई सकेको हुन्छ । बिशेषतः रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन खोजेमा, तार काटेमा, अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारी धनी लाई सूचना पठाउछ ।

यो प्रविधिको वावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन ।नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडीरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले कुबेर कडायत बताउनु भएको छ ।

मोटरसाइकल धनी आफैले चोरी भएको खण्डमा आफ्नो सवारीको लोकेसन प्रहरीलाई नदिंदासम्म नेपाल प्रहरीले कुनै पनि मोटरसाइकल तथा स्कुटरको लोकेसन हेर्न भने नसक्ने प्रविधि लागू गरिएको पनि लोकोमोका प्रविधि प्रमुख बिक्रममान सिंह बस्नेत बताउनु हुन्छ । ‘चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पुर्याउनु प्रमुख उदेश्य रहेको छ तर नागरिकका व्यक्तिगत गोपनियता झन महत्वपूर्ण हुने भएकाले त्यस्ता कुराको हामीले ख्याल राखेका छौं,’ वस्नेतले भन्नुभयो ।

महिला स्कूटर चालकको रात्रीकालिन सुरक्षा लक्षित यसको अर्को बिशेषता ’सेफ्टी नेट’ रहेको छ, जसले रातीको समय यात्रा गर्ने महिला वा पुरुषले आफ्नो रुट र लाइभ लोकेशन निश्चित समयकालागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ । एन.आइ.सी एशिया बैंककी अधिकृत स्कूटर चालक नविना शर्मा लोकोमोले धेरै सजिलो गराएको अनुभव सुनाउनु हुन्छ । ‘राती घर फर्किंदा अब ढुक्क छ । स्कूटर चलाउदा फोन गर्न मिलेन, अफिसबाट निस्किने बेला मोबाइलमा सेफ्टीनेटको बटन दियो, बुवा आमा स्कुटरको लोकेशन हेर्दै छोरी कहाँ आइपुगी भन्दै कुरेर बस्नुहुन्छ, घर अगाडि पुग्दा ठ्याक्कै ढोका खोल्न आइपुग्नु हुन्छ,’ आफ्नो अनुभव सुनाउदै शर्माले भन्नुभयो ।

नेपाल प्रहरीका अनुसार तेज गती, लेन अनुशासन, ट्राफिक नियमको उल्लंघन बढी मात्रामा दुइ–पांग्रे सवारी साधनका चालकबाट हुने गर्छ र तिनका परिवारका सदस्यलाई आफ्नो छोरा–छोरी, भाई–बहिनीको सुरक्षा बारे संधै एउटा त्रास रहि रहन्छ । ’धेरै स्पीड नगर’ भन्ने बाहेक अरु उपाय पनि छैन । ट्राफिक कारबाहीका अतिरिक्त त्यस किसिमका गतिविधिहरू नियन्त्रण गर्न परिवारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अब भने यो प्रविधिले अभिभावकलाई आफ्ना परिवारका सदस्यको दिनभरीको गति, गन्तव्य, रुट हेर्न सहज हुनेछ र त्यस्ता गतिविधि केही हदसम्म नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुने कम्पनीले दावी गरेको छ ।

रात्रीकालीन अथवा राजमार्ग यात्रा गर्दा मोटर साइकल अथवा स्कूटर बिग्रिएको अवस्थामा आफ्नो सबै भन्दा नजिकको वर्कशपबाट प्राविधिक बोलाउन सकिने सुविधाले गर्दा लोकोमोमा दुईपांग्रे सवारी साधनधनिहरु अझै आकर्षित हुने साइन अटो होमका संचालक विश्व श्रेष्ठले बताउनु भयो । साथै समूह बनाएर मोटरसाइकलमा लामो यात्रामा निक्लिने युवा वर्ग लक्षित अर्को फिचर राइड क्रु’ ले गर्दा “अब घुम्न निस्किंदा बाटोमा को कहाँ पुग्यो भन्दै फर्की फर्की पछाडि हेर्ने नपर्ने“ श्रेष्ठ बताउनु हुन्छ । “लोकोमो मोबाइल एपमा समूह बनाए पछि निश्चित समयको लागि सबैको लोकेशन मोबाइलमै हेर्न मिल्ने र चिया नास्ता खाने, रोक्ने बस्ने ठाँउको चयन र व्यवस्थापन गर्न निकै सहज हुने श्रेष्ठको भनाई छ ।

पाँच अन्तराष्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटर साइकल, स्कूटरर चार पांग्रे सवारीमा जडान गर्न सकिने यसको प्रवर्धक कम्पनी सेन्टिनेल ल्यावले जनाएको छ । बालाजुस्थित साइन अटो होमले लोकोमो देशव्यापी बजार व्यवस्थापनको जिम्मा पाएको छ ।