जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार १९:००

उच्चस्तरीय छानविन समिति नबनाए प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल


काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले बिमानस्थलबाट भएको क्वीन्टल सुन तस्करीलगायत चर्चित भ्रष्टाचार प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउनु भएको छ । आज बसेको संसदीय दल बैठकमा पौडेलले यस्तो बताउनु भएको हो ।

सरकारले उच्चस्तरीय समिति गठन गर्न नचाहेको उल्लेख गर्दै पौडेलले त्यसो भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताउनु भयो ।

‘सबै चर्चित घटनाहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ, सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ,’ बैठकमा पौडेलले भन्नुभयो ।

गणतन्त्र आएदेखिका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने उहाँको भनाई थियो ।