काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउनै पर्ने निश्कर्ष सुनाउनु भएको छ । आज बसेको संसदीय दलको बैठकमा कोइरालाले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको बेला सत्तारुढ दलका नेता कोइरालाले पनि सोही अडान राख्नुभएको हो । सरकारले भने त्यस्तो छानबिन समिति बनाउन आवश्यक नरहेको जिकिर गर्दै आएको छ । नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राख्नुभयो ।
‘सुन तस्करीका विषयमा हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर ७ दिन अघि पठाइन्छ, ऊ जाने बित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सीआईबीलाई दिन आनाकानी भएको छ,’ कोइरालाले भन्नुभयो, ‘त्यसपछि के के भइरहेको छ ? हामी सबैलाई थाहै छ । नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ । यसबारे पार्टीले गम्भीर भएर सोच्नु आवश्यक छ ।’
कोइरालाले भारतमा सुनको प्रयोग र वैधानिक कारोबारको अवस्था सुनाउँदै नेपाल भएर भारतमा सुन तस्करी भइरहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्