धनगढी, भदौ २० । चार ओटा पेस्तोलसहित १८ करोड बढीका तमसुकसहित तीनजना पक्राउ गरेको कैलाली प्रहरीले त्यसको भोलिपल्टै ३० लाख अबैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले २९ लाख ८० हजार अवैध रकमसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध वस्तु रहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सोरकम फेला परेको थियो । भारतीय नागरिकबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद भएको छ । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले बताउनुभयो ।
‘हामीलाई भारतको पलियाबाट अवैध केही महत्त्वपूर्ण कुरा आउँदै गरेको सूचना आयो, हामीले फलो गरेर भन्सारमा कुरिरह्यौ अनि पक्राउ गर्यौं,’ एसपी गिरीले जनताटाइम्ससँग भन्नुभयो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएपछि सोधपुछ सुरु गरेको थियो । सोधपुछका क्रममा उनीमाथि शंका लागेपछि जिल्ला प्रहरी कार्यालय ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी प्रमुख गिरी आफै सोधपुछमा खटिनुभएको थियो । त्यसपछि चालक थप आत्तिएर रकमबारे जानकारी दिएका हुन ।
प्रहरी चौकीभित्र ल्याइसकेपछि चालक थप शंकास्पद बनेको एसपी गिरीले बताउनु भयो । ‘उस्को गतिबिधि संकास्पद बनेपछि हामीले गाडिको खानतलासी गर्यौं, अनि अबैध रकम बरामद भयो,’ गिरीले भन्नुभयो । उहाँका अनुसार बर्माको साथबाट ५० हजार भारतीय रकम बरामद भएको थियो भने अन्य रकम गाडीमा लुकाइएको अवस्थामा फेला परेको हो । उनीसँग छ वटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ ।
यस्तै विभिन्न बैंकका खाली चेक समेत भेटिएको छ । पक्राउ परेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा रहेको नेपाली रकम उनले किन लुकाएर लैजाँदै थिए भन्ने विषयमा थप अनुसन्धान अघि बढाइने एसपी गिरीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्