जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १७:३९

निर्माण व्यवसायीले बिल पेस गरेको डेढ महिनाभित्र भुक्तानी दिने अर्थमन्त्रीको प्रतिवद्धता


काठमाडौं, साउन २९ । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीले बिल पेस गरेको डेढ महिनाभित्र भुक्तानी दिने प्रतिवद्धता जनाउनु भएको छ । आन्दोलनरत निर्माण व्यवसायीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा अर्थमन्त्री डा महतले यस्तो बताउनु भएको हो ।

उहाँले निर्माण व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नरहेको पनि बताउनु भयो । काम गरेकाहरुलाई भुक्तानी दिने दायित्व राज्यको भएकाले व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नभएको उहाँको भनाई थियो ।

सम्बन्धित आयोजनामा बिल पेस गरेको एक महिनाभित्र अर्थ मन्त्रालयमा आउने र त्यसको १५ दिनभित्रमा भुक्तानी दिने उनले बताए । अर्थ मन्त्रालयले भुक्तानी रोक्न चाहेको सन्देश गलत भएको उहाँको भनाइ छ ।

अर्थमन्त्री महतले निर्माण व्यवसायीले राख्दै आएको भ्याटको विषयमा मन्त्रालयले उचित सम्बोधन गर्ने विश्वास दिलाउनु भयो । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने पनि अर्थमन्त्रीले बताउनु भयो ।

छलफलमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले कार्यक्रम नभएको योजनाहरुमा सम्झौता भएको, गत वर्ष सम्पन्न नभएका आयोजनाहरुको भुक्तानीमा समस्या देखिएको बताउनु भएको थियो । गत वर्ष माइलस्टोल, सार्वजनिक खरिद नियमावलीलगायतका समस्याका कारण म्याद थप नभएका आयोजनाहरुलाई पनि राज्यले सम्बोधन गर्नुपर्ने उहाँको माग छ ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्नेलगायतका नौबुँदे माग राख्दै निर्माण व्यवसायी महासंघ आन्दोलनमा छ । यता सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्ने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।