जनता टाइम्स

३१ श्रावण २०८०, बुधबार १८:३४

करोडौं ठगीको आरोपमा समातिए भक्तपुरका कांग्रेस नेता


काठमाडौं, साउन ३१ । भक्तपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि करोडौंको ठगी गरेको आरोपमा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाटलाई प्रक्राउ गरेको हो ।

कांग्रेसबाट निर्वाचित रानाभाटले मिटर व्याजीको रुपमा ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी गर्नेहरुमा सानुभाई लोहार, पुतली कामी, थलबहादुर कामी र सहबहादुर कामीले वडा सदस्य रानाभाटविरुद्ध ठगीको मुद्धा दर्ता गरेका थिए ।

पीडितहरुको सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । रानाभाटलाई यही साउन २९ गते पक्राउ गरिएको थियो । ३० गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वडा सदस्य रानाभाटले जग्गा आफ्नो नाममा नामसारी गरी तेजबहादुर खड्कालाई १७ लाख ऋण दिएको बताइएको छ । आफूले लिएको रकमको साँवा व्याजसहित फिर्ता गरी जग्गा बेचविखन गर्ने तयारीका साथ कुरा गर्दा रानाभाटले साढे दुई करोड दिए मात्र उक्त जग्गा फिर्ता दिने नत्र फिर्ता नगर्ने बताएपछि बाध्य भएर न्यायको लागि प्रहरीमा उजुरी दिनुपरेको पीडितहरुले बताएका छन । वडासदस्य रानाभाटले उजुरीकर्तासँग साढे दुई करोड मागेको अडियोसमेत प्रहरीमा बुझाइएको छ ।

विभिन्न समस्याका बाबजुत खड्काको सहयोगीको रुपमा उजुरीकर्ताहरुले भूमिका निर्वाह गरेको बताइएको छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा पहुँचकै भरमा गरिवको सम्पत्ति हडप्ने कार्य गरेको पीडितको गुनासो रहेको छ । म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाले घटनाको वास्तविकता र कति रकम ठगी गरिएको हो भन्ने टुङ्गोमा पुगि नसकेको प्रहरीले बताएको छ ।

उजुरीबारे थप अनुसन्धान गरी कानुनी प्रकृया अनुसार दोषी प्रमाणित भए सोही अनुसारको कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।