धनगढी, साउन ३१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालबाहेक कम्युनिष्ट पार्टीमा रहेका सवै नेता–कार्यकर्तालाई एमालेमा ढोका खुल्ला रहेको बताउनु भएको छ ।
एमाले सुदुरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । एमालेमा माओवादी र एकीकृत समाजवादीका नेता कार्यकर्ताको लागि ढोका खुल्ला रहेको महासचिव पोखरेलले बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लागि भने एमालेको ढोका बन्द भएको उहाँले प्रष्ट पार्नुभयो ।
‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दैनौँ, अरू बाँकी सवै नेता–कार्यकर्तालाई एमालेमा ढोका खुल्ला छ’, उहाँले भन्नुभयो ।नेपालको एक मात्र कम्युनिष्ट शक्ति नेकपा एमाले भएको बताउँदै पोखरेलले अन्य कम्युनिष्ट पार्टीमा अलमलिएकालाई नेकपा एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।
‘अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताउनुभयो । कसरी जनताका समस्या समाधान गर्न सकिन्छ, कसरी जनताको भाग्य र भविष्य निर्माण गर्न सकिन्छ, कसरी एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिन्छ, भन्ने मान्यतामा आधारमा हामी अघि बढेका छौँ’, महासचिव पोखरेलले भन्नुभयो ।
एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान देखेर सबै छक्क परेका पनि उहाँले बताउनुभयो । चुनावको बेलामा मात्र जनताका बीचमा जाने मान्यतालाई तोडेर एमाले मिसन ग्रासरुट अभियानमा गएको पोखरेलले प्रष्ट पार्नुभयो । मिसन ग्रासरुटको प्रतिवेदनका आधारमा योजना बनाएर एमाले एमाले अघि बढेको उहाँले जानकारी दिनुभयो ।
महासचिव पोखरेलले नेकपा एमाले विगत, वर्तमान र भविष्य भएको पार्टी भएको बताउनुभयो । ‘अबको भविष्य भनेको एमालेको भविष्य हो, मिसन २०८४ खेर जाने छैन, बलियो राष्ट्रिय शक्तिका रूपमा बहुमतको सरकार बनाउने बनाउने अभियानका साथ नेकपा एमाले अगाडि बढ्दै छ’, पोखरेलले भन्नुभयो ।
अहिलेको गठबन्धन षडयन्त्रको बन्धन भएको पनि पोखरेलले बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड सत्ता भन्दा बाहिर बस्नै नसक्ने उहाँले दाबी गर्नुभयो । सरकारको नेतृत्व कांग्रेसले दाबी गर्ने बित्तिकै अहिलेको गठबन्धन ढल्ने उहाँको दाबी छ । ‘जुन दिन सरकारमा कांग्रेसले दाबी गर्छ, त्यसपछि माओवादीको खेलो सधैँको लागि सकिन्छ’, उहाँले भन्नुभयो ।

सुशासनको कुरा गर्ने माओवादी पार्टीका नेताहरूको नाम सुन तस्करीमा जोडिएको उहाँले बताउनुभयो । माओवादी नेताहरूको नाम आएपछि सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित हुन पुगेको उहाँको भनाइ छ । भन्सारको बाहिरबाट समातिएको सुन समातेको तीन दिन पछि मात्र सरकार गोदाममा छापा मार्न जानुले सुन तस्करीमा सरकारको संलग्नता छ भन्ने कुरा प्रमाणित गरेको उहाँको भनाई थियो ।
सरकारले लुकाउन नसकेको कारण सुन काण्ड सार्वजनिक भएको उहाँले बताउनुभयो । त्यसैले अब एमालेले निष्पक्ष छानबिन गर्ने समिति गठन गर्नुपर्ने माग राखेको प्रष्ट पार्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणाको नाम आएपछि छानबिन सेलाएको उहाँले सुनाउनुभयो । ललिता निवासको जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराईको नाम आएपछि अलमलिएको उहाँले बताउनुभयो ।
नेकपा एमालले आरोप लगाउन र आफू उम्किने षडयन्त्रमा सत्ता गठबन्धन लागेको बताउँदै पोखरेलले एमाले संलग्न भएको भनिएका सबै काण्डको छानबिन गर्न र कारबाही गर्न चुनौती दिनुभयो । ‘निर्दोष कोही नपरुन्, दोषी कोही नउम्किउन्, हामी सबै घटनामा सहयोग गर्न तयार छौँ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्