जनता टाइम्स

२ भाद्र २०८०, शनिबार १७:३५

डराउने व्यक्ति होइन, सशक्त प्रतिवाद गर्ने व्यक्ति मात्रै अब नेतृत्वमा पुग्छ : महेश बस्नेत


भक्तपुर, भदौ २ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अव डराउने व्यक्ति कहिल्यै नेता बन्न नसक्ने बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले आज आयोजना गरेको वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका इञ्चार्ज समेत रहनुभएका बस्नेतले मनमा डर बोक्ने व्यक्ति अब नेतृत्वमा आउन नसक्ने बताउनु भएको हो ।

‘कसैले गाली गर्छ भनेर डराउने व्यक्ति होइन, सशक्त प्रतिवाद गर्न सक्ने व्यक्ति मात्र अब नेता बन्छ,’ बस्नेतले भन्नुभयो, ‘हाम्रो पार्टीमाथिको आक्रमणलाई सशक्त रूपले प्रतिवाद गर्ने हो, त्यो काम गर्नेहरु नै नेतृत्वमा आउँछन ।’ उहाँले महँगी, तस्करी, भ्रष्टाचार र कुशासनका विरुद्ध सशक्त आवाज उठाउन ढिला भइसकेको बताउनु भयो । नेता बस्नेतले सरकारी निकम्मापनले सीमा नाघेको भन्दै यस्तो बताउनु भएको हो ।

उहाँले नेकपा एमाले भ्रष्टाचार र अनियमितताको घटनामा काहीँ नचुकेको बताउनु भयो । त्यसैले एमाले बोलिरहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले भ्रष्टाचारका घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा रहेको बस्नेतको भनाई छ । नेकपा एमालेले सुन तस्करी लगायतका विषयमा राखेको अवधारणाका विरुद्ध एमालेसँग फरक विचार राख्नेले भ्रम फैल्याउने काम गरेका बस्नेतले बताउनुभयो । त्यसलाई चिर्न आवश्यक रहेको उहाँको भनाई छ ।

माओवादी अध्यक्ष र अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल देशको लागि समस्या भएको बस्नेतले बताउनुभयो । प्रचण्ड न रुख चढेर काफल खान सक्ने न भुईँमा झरेको काफल खाएर चित्त बुझाउने अवस्थामा रहेको बस्नेतले बताउनुभयो । ३२ सिटको पार्टी बोकेर उहाँलाई प्रधानमन्त्री चाहिनुले यसै कुरालाई पुष्टि गरेको बस्नेतले बताउनुभयो ।

‘प्रचण्ड न रुखमा चढेर काफल खान सक्छन, न भुईँको काफलमा चित्त बुझाउँछन, उनी कहिले एमालेको रुख लच्काएर काफल खान खोज्छन, कहिले कांग्रेसको रुख लच्काएर काफल खन्छन,’ बस्नेतको भनाई थियो । प्रचण्डलाई प्रधानमन्त्री भन्दा नेपालीलाई लाज लाग्ने अवस्था बनेको पनि उहाँले बताउनुभयो ।

प्रचण्डको सत्ता लिप्साको ओरीपरी घुमिरहेको राजनीतिलाई ठिक ठाउँमा ल्याउन एमाले र कांग्रेसबीच उच्चस्तरको राजनीतिक सहमति हुनुपर्ने उहाँले दोहोर्याउनु भयो । ’नेपालको प्रधानमन्त्री हुँ भन्न पनि लाज लाग्ने नौटङ्कीलाई हामीले प्रधानमन्त्री बनाएका छौँ‘, बस्नेतले भन्नुभयो, ‘ प्रचण्डको सत्ता लिप्साको ओरीपरी घुमिरहेको राजनीतिलाई ठिक ठाउँमा ल्याउन एमाले र कांग्रेसबीच उच्चस्तरको राजनीतिक सहमति हुनुपर्छ ।’

आज माओवादीले नेपालका हरेक पार्टीलाई गलत ढंगले प्रयोग गरेको उहाँले बताउनुभयो । माओवादी अराजक संगठनको रूपमा स्थापित हुँदै गएको उहाँले प्रष्ट पार्नुभयो । माओवादी सुन तस्करसँग मिलेर देश सिद्ध्याउने धन्दामा लागेको बस्नेतको भनाइ छ । प्रचण्ड आफ्नै अपराधको कारण घेराबन्दीमा पर्नु भएको उहाँको भनाई छ । नेता बस्नेतले माधव नेपाल, बाबुराम भट्टराई लगायतलाई बालुवाटारको जग्गा प्रकरणमा जोगाउन प्रहरी अधिकारीको सरुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लागेको ठोकुवा पनि गर्नुभयो । उहाँले आरोपीलाई छानबिन गरेर देखाउन गृह मन्त्रीलाई चेतावनी दिनुभयो ।

सुनिल शर्मालाई समातेर सरकारको विरुद्ध लाग्नेलाई यसै गरिन्छ भन्ने चेतावनी सरकारले दिएको उहाँले बताउनुभयो । सुनिल शर्मालाई समातेर जनताको आवाज दबाउन नसकिने उहाँले प्रष्ट पार्नुभयो । एमालेले उठाएको सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्छ भन्ने आवाज नेपाली कांग्रेस भित्र पनि उठ्न लागेको उहाँले स्मरण गराउनुभयो ।

बस्नेतले रवि लामिछानेको झिल्के पाटीको तिल्के गफ पनि अब जनताले पत्याउन छाडेका बताउनुभयो । लामिछानेको एउटा खुट्टो प्रतिपक्ष दलको बेञ्चमा रहेको र अर्को खुट्टो सत्ता पक्षको बेञ्चमा राख्न उचालेर बसेका उहाँको टिप्पणी छ । कति बेला माधव नेपालका पार्टी र उपेन्द्र यादवको पार्टी सरकारबाट बाहिरिएला र आफू सत्तामा जाउँला भनेर लामिछाने खुट्टो उचालेर बसेका उहाँको भनाइ छ । ‘रवि लामिछानेको दाहिने हातले मन्दिरको मूर्तिमा पूजा गरिरहेको छ, अर्को हात प्रसाद चोर्न लम्किएको छ’, बस्नेतले भन्नुभयो ।

बस्नेतले एमाले केन्द्रीय सचिवालयले गरेको निर्णयको कार्यान्वयन भक्तपुरबाट सुरु भएको जानकारी दिनुभयो । अब एमालेका कार्यक्रममा पाँच जनाभन्दा बढी वक्ता नहुने, खादा माला नगलाउने र मञ्चमा नेताहरूको भिड नलाउने बस्नेतले प्रष्ट पार्नुभयो । शनिबारको कार्यक्रम खादा, माला विना मञ्चमा धेरै नेतालाई नराखी गरिएको थियो । ‘यो कल्चर हो, सामन्तवादी अवशेषलाई हटाउन गरेको नयाँ अभ्यास हो’, उहाँले भन्नुभयो ।

नेकपा एमालेले युवालाई मौका दिँदैन कि भन्ने अशंका अन्त्य भएको बस्नेतले बताउनुभयो । पार्टी सचिवालय बैठकले गरेको निर्णयले एमालेलाई युवाको पार्टी बनाउन बाटो खुलेको उहाँले प्रष्ट पार्नुभयो । अब राजनीतिमा असङ्ख्य युवाले ठाउँ पाउने उहाँले प्रष्ट पार्नुभयो । ‘अब नेकपा एमालेलाई युवाहरूको पार्टी बनाउँदै छौँ’, बस्नेतले भन्नुभयो ।

युवालाई नेतृत्व लिन तयार हुन बस्नेतले आग्रह गर्नुभयो । ‘अब नेतृत्वलाई गाली गर्ने दिन सकिए, अब तपाईँ तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने देखिएको छ’, उहाँले भन्नुभयो ।