जनता टाइम्स

४ भाद्र २०८०, सोमबार १५:५३

एमाले प्रचार कमाण्डर राजेन्द्र गौतमको उदघोष : सरकार तस्कर र अपराधीको संरक्षक बन्यो


बिराटनगर, भदौं ४ । नेकपा एमालेका केन्द्रीय प्रचारबिभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इतिहासकै सवैभन्दा नालायक र भष्टाचारीहरुको सरकारको संज्ञा दिनुभएको छ ।

बिराटनगरमा आजबाट सुरु भएकोकोशी प्रदेश स्तरीय योजना तर्जुमा तथा प्रचार कार्यशालाको उदघाटन समारोहमा बोल्दै गौतमले यस्तो बताउनु भएको हो ।

‘यो सरकारले जति पनि फाइल खोल्यो, ती सवै नाटक हुन भन्ने प्रमाणित भयो, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी काण्डमा सरकारको ब्यवहारले इतिहासकै सवैभन्दा कलंकित सरकार हो भन्ने तथ्य उजागर भएको छ,’ प्रचार प्रमुख गौतमले भननुभयो ।

‘सुन तस्करको उच्चस्तरीय छानविन किन चाहियो भन्ने कुरा सरकारको ब्यवहारले नै प्रष्ट पारिसकेको छ । प्रहरीमा हठाथ गरिएको सरुवाले सरकार अपराधी जोगाउने सुनियोजित धन्दामा लागेको छ भन्ने प्रमाणित गरेको छ,’ गौतमले भन्नुभयो । उहाँले सुन तस्करीमा पनि सरकार मुल मान्छे जोगाउनका लागि परेको बताउनु भयो ।

गठबन्धनका नेता जोडिएपछि सरकार ललितानिवासदेखि सुन तस्करीसम्मका प्रकरणमा सरकार नै जोगाउने खेलमा लाग्यो भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । ‘एमालेले उठाएको मुद्धा सही छ, एमालेको कुरा सही छ भन्ने सरकारको पछिल्लो कामले प्रमाणित गरेको छ । सरकार अपराधी जोगाउने र गठबन्धनमा रहने सवै दोषीहरु जोगाइन्छ भन्ने काममा लागेको छ,’ एमाले प्रचार प्रमुख गौतमले भन्नुभयो ।

उहाँले लतिला निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारले मुख्य निर्णयकर्तालाई जोगाएको भन्दै कडा आपत्ति जनाउनु भयो । ‘ललिता निवास जग्गा प्रकरणमा सरकारले हदैसम्मको बदमासी गर्यो । मुख्य ब्यक्ति जोगाउने र साना मान्छे फसाउने काम भयो । यस्ता कामको जति निन्दा गरे पनि कम हुन्छ,’ गौतमले भन्नुभयो ।