काठमाडौं, भदौ २१ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सामग्री देशभित्रै उत्पादन गर्न व्यवसायीहरूलाई सुझाउँदै सरकारले संरक्षण गर्ने प्रष्ट पार्नुभएको छ । नेपालभित्रै विद्युतीय सामाग्री उत्पादन गर्दा सरकारले संरक्षण दिने अर्थमन्त्री खतिवडाको भनाई छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघको दशौं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले घरायसी उपकरण मात्र नभई औद्योगिक र व्यवसायिक विद्युतीय उपकरण पनि नेपालभित्रै उत्पादन गर्नुपर्ने बताउनु भयो । ‘घरायसी उपकरण मात्र नभई औद्योगिक र व्यवसायिक विद्युतीय उपकरण पनि नेपालभित्रै उत्पादन गर्नुपर्छ, त्यसका लागि सरकार सहयोग गर्न तयार छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।
उहाँले नेपालमा बिद्युतीय सामाग्री उत्पादन भए सरकारले संरक्षण गर्ने प्रष्ट योजना सुनाउनु भयो । ‘विद्युतीय सामग्री नेपालमा उत्पादन हुन्छन् भने हामी संरक्षण दिन्छौं। त्यस्तो संरक्षण दिनलाई सरकारले सबै उपाय अपनाउँछ । आयातमा भन्सार लगाउन सकिन्छ । भन्सार सस्तो भयो भने मूल्यांकन पनि बढाउँछौं, त्यतिले पनि पुगेन भने अन्तःशुल्क लगाउन सक्छौं र मूल्य अभिवृद्धि कर त लगाउने नै भयौं,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।
विद्युत उत्पादन र वितरणमा नेपाल आन्तनिर्भर हुन लागिसकेको अवस्थामा विद्युतीय सामग्रीको उत्पादनमा पनि आत्मनिर्भर हुनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई थियो । ‘सरकारको आशय के हो भने यस्ता सामाग्री नेपालभित्रै उत्पादन गर्न प्रावधिक रूपमा ज्यादै जटिल छैनन्। विद्युतीय उपकरण मुलुकभित्रै उत्पादन गर्न आउनुहोस् भनेर आह्वान गरेको सरकारको सन्देशका रुपमा बुझिदिन अनुरोध गर्दछु,’ अर्थमन्त्री खतिवडाले ब्यवसायीलाई भन्नुभयो ।
नेपालभित्र उत्पादन हुने विद्युतीय सामग्रीमा सरकारको सानो सहयोगले थप उत्पादन गर्न सकिन्छ भने नीजि क्षेत्रले स्पष्ट कार्ययोजना बनाएर बुझाउन पनि अर्थमन्त्री खतिवडाले आग्रह गर्नुभयो । ‘कस्ता कुरामा प्राविधिक तथा नीतिगत सहयोग चाहिन्छ र हामी थप आत्मनिर्भर हुन सक्छौं भनेर त्यसको कार्ययोजना लिएर आउनुहोस्। सरकार सहयोग गर्न तयार छ । अर्काको उत्पादनमा नाफा होइन, हामी आफ्नै उत्पादनमा, आफ्नै व्यवसायमा नाफा गर्न सक्छौं,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।
नेपालको विद्युत उत्पादनसँगै त्यसको खपतमा पनि जोड दिनुपर्ने उहाँको सुझाव थियो । पेट्रोलियम ऊर्जालाई विद्युतीय उर्जाका माध्यामबाट प्रतिस्थापन गर्न सरकारले निश्चित कार्ययोजना लिएर अगाडि बढेको जानकारी पनि अर्थमन्त्री खतिवडाले दिनुभयो । ‘हामीलाई छिट्टै एलपी ग्याँसको खपत घटाउनु छ । एक दुई वर्षमा नै त्यसको उत्पादन आधा गर्ने गरी तयारी गरिरहेका छौं,’ उहाँले भन्नुभयो । विद्युतीय सामग्री बाहिरबाट आयात गर्ने र नेपालमा त्यसको व्यापार गर्दा व्यवसायीहरूले सहुलियत पाउने विषयमा आफूले सोच्न पनि नसक्नेसमेत अर्थमन्त्री खतिवडाले प्रष्ट पार्नुभयो ।
‘तपाईहरुको उज्ववल भविष्य छ । मुलुकभित्रै उत्पादन गर्नुहोला । उत्पादित वस्तु आयात गर्नका लागि सरकारले भन्सार घटाउने सम्भावना कम छ । सबैलाई सबै ठाउँमा खुसी पार्न सकिदैन,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । कार्यक्रममा अर्थमन्त्री खतिवडाले व्यापारीहरूको चलखेलमाथि पनि प्रहार गर्नुभयो । ‘विद्युतीय सामग्री मात्रै कडा हुन्छ, चम्किलो हुन्छ भन्ने लागको थियो। तर तपाईहरु पनि विद्युतको व्यापार गर्दागर्दै करेन्ट प्रवाह गर्ने भईसक्नु भएछ। राम्रै झड्का दिनुहुँदो रहेछ, त्यो मैले महसुस गरें, यद्यपि त्यसको स्विच अन्तै हुन्छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्