जनता टाइम्स

६ भाद्र २०८०, बुधबार १८:५४

सुन तस्करसँग उच्च सरकारी अधिकारीदेखि पत्रकारसमेतको संलग्नता छ : रवि लामिछाने


काठमाडौं, भदौ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा सरकारकै उच्च अधिकारीदेखि पत्रकारसमेत संलग्न भएको खुलासा गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै लामिछानेले यस्तो खुलासा गर्नुभएको हो ।

‘सुन तस्करीमा आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरिएको व्यक्तिलाई फोटो समेत पठाएको इमान्दार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन । यसमा संलग्न विचौलियाहरुको पनि मलाई जानकारी गराएका छन । त्यसको जानकारी सम्बन्धित निकायलाई मैले अवश्य गराउनेछु । यसको समाचार लुकाउनको लागि लामो समयदेखि पत्रकारिता गरेको मान्छे समेत संलग्न छन । पूर्वप्रहरी प्रमुखको पनि कुराकानी दावासँग भएको सूचना प्राप्त भएको छ । यसमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु,’ लामिछानेले संसदमा भन्नुभयो ।

उहाँले दावा नाम गरेको व्यक्तिसँग सुन तस्करबारे कुराकानी भएको उनको फोन रेकर्ड हेर्न पनि आग्रह गर्नुभयो । यस्तै लामिछानेले सरकारले सीआईबीलाई दोषीलाई छुटाउन दबाब दिनसक्ने आशंका पनि जनाउनु भएको छ । ‘फरेन्सिक ल्याबबाट दावाको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको तस्तै हेर्न पाओस, सत्तपाक्षका मान्छे जोगाउन सिआइबीको अनुसन्धान प्रभावित हुने आशंका छ’, लामिछानेले भन्नुभयो ।