जनता टाइम्स

८ भाद्र २०८०, शुक्रबार १६:२०

कोशीमा अव एमाले नेतृत्वको सरकार बन्छ, मज्जाले चल्छ : केपी ओली


बिराटनगर, भदौ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभएको छ ।सर्वाेच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको बिश्वासको मत संबिधानसम्मत नभएको भन्दै कामचलाउ घोषणा गरेपछि आज पहिलो पटक बिराटनगर आउनु भएका ओलीले यस्तो बताउनु भएको हो ।

विराटनगरमासञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ । सरकार मज्जाले चल्छ ।’ कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ । एमालेसँग उपसभामुखसहित ४० सांसद छन । एमालेलाई साथ दिइरहेको राप्रपाको छ सांसद रहेका छन ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेको छ । यहीबेला ओलीले एमाले सरकार बन्ने ठोकुवा गर्नुभएको हो । कोशीमा नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको पनि ओलीले बताउनु भयो । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा आफूलाई अचम्म लागेको बताउनु भयो ।

‘माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गएको थियो, अहिले पनि मानेको छैन । तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत बताउनु भयो । अध्यक्ष ओलीले आफूहरु संबिधानसम्मत काममा मात्रै लागेको बताउनु भयो । गठबन्धनले जे–जे असंवैधानिक गर्छ, त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा मान्न नसकिने उहाँको भनाई थियो ।