काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिगतका अदूरदर्शी शासकका कारण देशको शिक्षा पछि परेको बताउनु भएको छ ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वेदका ऋचा तथा औषधिहरूको आविष्कार सबैभन्दा पहिले नेपालमा भए पनि शासकको अदूरदर्शिताका कारण त्यसपछिका दिनमा शिक्षाले अपेक्षाकृत गति समाउन नसकेको प्रष्ट पार्नुभएको हो ।
‘ज्ञानभूमिका रूपमा नेपाल जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो, विगतका शासकहरूको अदूरदर्शिताले अपेक्षाकृत गति समाउन सकेन’, ‘तर अब नेपाल पछाडि परिरहन सक्दैन,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ । विकास र निर्माणका लागि अति आवश्यक नवप्रवर्द्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा परेकाले आगामी दिनमा नेपालको शैक्षिकस्तर माथि उठ्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।
वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले व्यवहारिक, प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिनुभएको छ । देशका शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना नभएर देशका लागि आवश्यक जनशक्ति उत्पादन केन्द्र बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसका लागि आधारभूत तहदेखि नै पाठ्यक्रम लागू हुनुपर्ने प्रधानमन्त्री ओलीको सुझाव छ ।
सार्वजनिक शिक्षा प्रणालीमा रहेका कमी–कमजोरीको पहिचान गर्दै शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन गरिनुपर्ने सुधारका कामहरुलाई सरकारले महत्त्व दिएको पनि सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्