काठमाडौं, भदौ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धनलाई सघाउने विषयमा कुनै सहमति नभएको बताउनु भएको छ ।
मंगलबार साउदी अरब र युएइको साताव्यापी भ्रमणबाट नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले प्रतिनिधि सभाको विषयगत समितिको सभापति लिन कोशीमा गठबन्धनलाई सघाउने सहमति गरेको भन्ने कुरा गलत भएको बताउनुभयो ।
‘प्रतिपक्षी दलको हैसियतले हामीले संसदीय समितिमा दलहरूको हैसियत अनुसार स्थान हुनुपर्छ भनेका थियौँ, सोही अनुसार एउटा समिति पाएका छौँ’, उहाँले भन्नुभयो ।
कोशी प्रदेशमा राप्रपाले चाहेमा मुख्यमन्त्री नै पाउने अवस्था रहेको उहाँले बताउनुभयो । ‘हामीले चाह्यौँ भने सत्ता पक्षीय गठबन्धनबाट मुख्यमन्त्री नै पाउन सक्ने अवस्था छ, अहिलेको मुख्यमन्त्रीले राप्रपालाई मुख्यमन्त्री दिँदा पनि मानेन भनेर त्यहाँको प्रदेश सभा बैठकमा नै भन्नुभएको छ’, उहाँले भन्नुभयो ।
उहाँले संसदीय समिति सभापतिको विषयलाई लिएर लेनदेनको कुरा गर्नु आपत्तिजनक भएको बताउनुभयो । यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको लिङ्देनको भनाइ छ । ‘हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै पनि प्रकारको लेनदेनको सहमति भएको छैन’, उहाँले भन्नुभयो ।
अहिले सभामुख र एक जना मन्त्री लिएर राप्रपाले कोशी प्रदेशमा सहयोग गर्ने हल्ला फैल्याएको उहाँले बताउनुभयो । अहिले कोशी प्रदेशमा प्रक्रियाको हिसाबले पनि राप्रपाले चाहेर पनि गठबन्धनलाई सहयोग गर्ने चरण पार भइसकेको उहाँको भनाइ छ । ‘त्यसैले त्यो विषय सरासर झुट हो’, उहाँले भन्नुभयो ।
पहिला पनि राप्रपालाई सभामुख भागमा परेको बताउँदै लिङ्देनले सभामुख लिँदा त्यहाँको संसदीय गणितमा राप्रपाको भूमिका नै नहुने देखेर सो पद नलिएको उहाँले बताउनुभयो । अहिले कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको उहाँले दाबी गर्नुभयो ।
उहाँले विदेशमा रहेको नेपालीले धेरै दुःख गरेका बताउनुभयो । विदेश जाँदा र फर्कँदा नेपालकै त्रिभुवन विमानस्थलमा समेत उहाँहरू माथि अति रुखो व्यवहार हुने गरेको गुनासो उहाँहरूले सुनाउनुभएको लिङ्देनले बताउनुभयो । देशमा बलियो नेतृत्वका अभावका कारण देशका युवाले तल्लो स्तरको काम गर्न पनि विदेश जानु पर्ने स्थिति आएको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्