काठमाडौं, भदौ १४ । नेकपा एमालेले पछिल्लो समय मुलुकको राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता निकै ठूलो चुनौती बनेर तेर्सिएका निष्कर्ष निकालेको छ ।
जननेता मदन भण्डारीलाई महासचिव चुनेको चौथो महाधिवेशन स्थल सिरहाको सर्रे अम्बासमा बुधबार सम्पन्न सचिवालय बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
‘समाज र राजनीतिमा देखा परेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ,’ बैठकको निर्णय उधृत गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘यति बेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले विभिन्न ऐतिहासिक मोडहरू पार गर्दै अगाडि बढेको नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति, मूल प्रवाह र सही क्रान्तिकारी धारको प्रतिनिधित्व गर्ने पार्टी भएको निष्कर्ष निकालेको छ ।
गएका ३० वर्षका व्यवहारिक परीक्षणका क्रममा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सच्चाइ बारम्बार पुष्टि भएको बैठकको निष्कर्ष छ । यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, सिङ्गो नेपाली समाजलाई सही दिशाबोध र मार्गदर्शन गरेको सचिवालय बैठकले निर्णय गरेको छ ।
जनताको बहुदलीय जनवादको बीजारोपण गर्ने महाधिवेशनका रूपमा चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्त्व रहेको बैठकले निष्कर्ष निकालेको छ । मदन भण्डारीजस्ता मेधावी, नवीन विचारक र लोकप्रिय नेतालाई महासचिव चयन गर्ने चौथो राष्ट्रिय महाधिवेशनको निर्णयको विशेष महत्वको रहेको सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।
३० वर्ष लामो पञ्चायती तानासाहीको अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्ने र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताको रूपमा स्थापित गर्ने ऐतिहासिक मञ्चका रूपमा चौथो राष्ट्रिय महाधिवेशनको युगीन महत्त्व रहेको सचिवालय बैठकले ठहर गरेको छ । सो महाधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालका योगदानहरूलाई पुनर्स्थापित गर्ने अत्यन्त महत्त्वपूर्ण निर्णय गरेको सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।
माओ त्सेतुङले दिनुभएका योगदानहरू र चिनियाँ क्रान्तिका अनुभवहरूबाट सिक्ने तर माओ विचारलाई मार्गदर्शक सिद्धान्तका रूपमा नलिने निर्णय नेपाली क्रान्तिलाई आफ्नै यथार्थ धरातलमा उभ्याउने, आन्दोलनलाई कुनै पनि विदेशी अनुभवहरूको यान्त्रिक अन्धानुकरण र नक्कलबाट मुक्त गर्ने, मार्क्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने सन्दर्भमा अत्यन्त महत्वको निर्णय थियो भन्ने पुष्टि भएको सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।
सो महाधिवेशनमा आफ्ना मतहरू मतदानका क्रममा पराजित भए पनि विचार प्रस्तोता नेताहरूको अनुशासन, पार्टी गोपनीयता र महाधिवेशनका निर्णय प्रतिको प्रतिबद्धता उदाहरणीय रहेको बैठकको निचोड छ । कम्युनिष्ट आन्दोलनका कुनै पनि समूह र अन्य राजनीतिक पार्टीहरूले देशभित्र यस तहको राजनीतिक मञ्चको आयोजना गर्ने परिकल्पना नै नगरेको त्यस प्रतिकूल अवस्थामा नेकपा मालेले जनताको आश्रय, संरक्षण र मायाका बिच त्यति बेला ऐतिहासिक महाधिवेशन आयोजना गरेको बैठकले निष्कर्ष निकालेको छ ।
‘त्यो आफैमा अद्वितीय र पार्टी तथा जनताबिचको अन्योन्याश्रित सम्बन्धको अनुपम नमुना थियो’, बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बाँकी नै रहेको बैठकले निष्कर्ष निकालेको छ । ‘राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ’, बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका एमालेले निष्कर्ष निकालेको छ । ‘समाज र राजनीतिमा देखा परेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ, यति बेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ’, निर्णयमा उल्लेख छ ।
यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको बैठकले चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कन सहित स्मरण गरेको छ । सो महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानहरूप्रति बैठकले गर्व गरेको छ । जनता तथा पार्टीबिचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने बैठकले संकल्प गरेको छ ।
‘यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहना अनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ’, निर्णयको अन्त्यमा लेखिएको छ ।













प्रतिक्रिया दिनुहोस्