जनता टाइम्स

१५ भाद्र २०८०, शुक्रबार १९:४१

हुम्लामा साउने पूर्णिमाको रौनक


हुम्ला, भदौ १५ । दुर्गम हिमाली जिल्ला हुम्लामा साउने पूर्णिमा धुमधामका साथ मनाइएको छ । श्रावण शुक्ल त्रियोदशीदेखि पूर्णिमासम्म मनाइने साउने पूर्णिमा मेलामा देवताको माडु (मन्दिर) मा धामी नाच्ने गरिन्छ । वर्षौंअघिदेखि यो पर्व भव्यरूपमा मनाउने प्रचलन रहिआएको छ ।
यही साउने पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका धेरैजसो गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाउने गरिन्छ । साउने शुक्ल त्रयोदशीको दिन बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर)मा देवताका धामी र भत्तालुको भिड लाग्ने र पूजाआजाका लागि जिल्लाभरिका देवी देवताहरुको माडु तथा थानमा ठूलो घुइँचो लाग्नुका साथै धामी नाच्ने, देवताको पूजा गरिन्छ ।

विशेषगरी यो पर्वमा देवी, भवानी, मष्ठो, कालसील्तो, हिल्सो, मदानु, राम्पाल, बडपाल, हंशपाल, लागो, शंकपालल्वासुर, महाकाल, वेताललगायतका देवताको पूजा गर्ने चलन छ । नाम्खाबाहेक हुम्लाको अदानचुली, ताजकोट, सर्केगाड, सिमकोट, चंखेली र खार्पुनाथ गाउँपालिकाका बस्तीमा यो पर्व मनाइन्छ ।

सिमकोट वडा नं. २ ठेहे, ५ र ६ सिमकोटका स्थानीयले यो पर्वलाई विशेष महत्वका मनाउँछन् । परम्परागत मान्यताअनुसार त्रयदशी बिहानैदेखि पञ्चमीसम्म विभिन्न देवीदेवताका मन्दिरमा पूजाआजा, जात्रा लाग्ने र देउडा खेलेर मनाइने गरिएको स्थानीयवासीको भनाई छ ।