जनता टाइम्स

१५ भाद्र २०८०, शुक्रबार २०:१९

वाग्मती क्रिकेट संघको अध्यक्षमा पारस खड्का सिंगो टीमसहित निर्वाचित, इतर समुह बढारियो


काठमाडौं, भदौ १५ । राष्ट्रिय क्रिकट टिमका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

खडका शुक्रबार धोवीघाट, ललितपुरमा आयोजित निर्वाचनमा उमेश पियालाई ९ मतले पराजित गर्दै प्रदेश अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
काठमाडौं जिल्ला क्रिकेट संघका सदस्य भएपछि प्रदेशका ६ वटा जिल्ला संघमध्ये चार जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर) को समर्थनमा वाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिनुभएका खड्काले २३ मत प्राप्त गर्नुभयो भने पियाले १४ मत मात्रै पाउनु भएको छ ।

यस्तै उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षत्री, सचिवमा ललितपुरका प्रसन्न शाक्य, कोषाध्यक्षमा भक्तपुरका सन्जय बस्नेत निर्वाचित हुनुभएको छ । त्यस्तै, अनिल अधिकारी (चितवन), सुजन महर्जन (ललितपुर), शेखर श्रेष्ठ (ललितपुर), सन्जोग पोखरेल (मकवानपुर), वसन्तराज सत्याल (काठमाडौं), धिरज श्रेष्ठ (मकवानपुर) र अजयवीर पाण्डे (काठमाडौं) सदस्यमा चुनिनुभएको छ । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध हुनुभएको छ । उहाँ राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान हुनुहुन्छ ।

नेपाल क्रिकेट संघको निर्वाचन असोजमा हुँदैछ, जसमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वमा दोहोरिन चाहनुभएको छ कोषाध्यक्ष रोशन सिंह अध्यक्षमा चन्दलाई चुनौती दिने तयारीमा हुनुहुन्छ । यसबीचमा काठाडौं जिल्ला संघका अध्यक्ष दीवाकर घलेसँगको समन्वयमा पारस खड्का समूह पनि बलियो बनेको छ । जिल्लादेखि प्रदेश निर्वाचनमा चन्द–खड्का समूह एकसाथ उभिएको छ भने सो टीमलाई सिंह समूहले चुनौती दिइरहेको छ । यसको प्रत्यक्ष प्रभाव वाग्मती प्रदेश संघको निर्वाचनमा देखिएको छ ।

वाग्मती प्रदेशको १२ सदस्यीय कार्यसमितिमा चन्द–खड्काको प्यानलले ‘क्लीन–स्वीप’ नै गरेको छ । कुल ३७ भोटमध्ये खड्का प्यानलका सबै उम्मेद्वारले २३ मत प्राप्त गरेका छन भने सिंह पक्षका सबै उम्मेदवार पराजित भएर समान १४ मत पाएका छन ।