काठमाडौं, १६ भदौं । राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ । आज साँझ ६ बजे देशैभरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने युवा संघले जनाएको छ । काठमाडौंमा भने नयाँ बानेश्वरमा प्रदर्शन गरिने युवा संघले जनाएको छ ।
साँझ ६ बजे देशभर एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्न लागेको युवासंघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । दैनिक रुपमा मूल्यवृद्धि भएको भन्दै अब युवा संघ चुप लागेर नबस्ने भन्दै आज एकसाथ देशभर प्रदर्शन गर्ने जनाउनुभयो । पेट्रोलियम पदार्थ र अन्य दैनिक उपभोग्य सामानको चर्को मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गर्न लागेको हो ।
जनतालाई समस्या पर्ने गरि मूल्यवृद्धि गर्दा पनि सरकारमा रहेकाहरू मौन रहेकाले विरोधमा उत्रनुपरेको संघले जनाएको छ । बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको हो । अहिले हरेक भान्छामा महँगी बढ्दा सर्वसाधारणलाई दैनिक गुजारा चलाउनसमेत हम्मे परेको छ ।
बजारमा उपलब्ध हुने करिब ४० खाद्यवस्तुको मूल्यवृद्धि एक वर्षको अन्तरमा न्यूनतम ३ प्रतिशतदेखि १५० प्रतिशतले बढेको छ । खाद्यान्न, लत्ताकपडा, तरकारीजस्ता अत्यावश्यक वस्तुदेखि शिक्षा शुल्क, स्वास्थ्य सेवा शुल्कलगायतमा चर्को महँगीले आम सर्वसाधारण मारमा परेका छन् । अझ धमाधम चाडपर्व नजिकिँदै गर्दा यो सरकारले मूल्यवृद्धि अचाक्लि रुपमा बढाएपछि यो टुलुटुलु हेरेर एमाले चुप नबस्ने पनि थेवेले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्