जनता टाइम्स

२० भाद्र २०८०, बुधबार १४:२६

मानवताविरोधी प्रवृत्तिविरुद्ध एकजुट भएर लाग्न एमाले अध्यक्ष ओलीको आह्वान


काठमाडौं, भदौ २०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचविखन तथा ओसारपसार गर्ने मानवता विरोधी प्रवृत्तिका विरुद्ध एकजुट भएर लाग्न सबैमा आह्वान गर्नुभएकाे छ ।

मानव बेचविखनविरुद्धको १७औं राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मानव बेचविखन तथा ओसारपसार गर्ने मानवता विरोधी प्रवृत्तिका विरुद्ध एकजुट भएर लाग्न आह्वान गर्नुभएको हो । मानव सभ्यताको कलंका रूपमा रहेको मानव बेचविखन तथा ओसारपसार विरुद्ध सचेतना र सक्रियताका लागि पनि उहाँले सबैमा आह्वान गर्नुभएको छ ।

सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाई गरेको पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले मानव बेचविखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा पार्टी निष्ठापूर्वक समर्पित रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानुन र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गर्नुभएकाे छ । मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अंग प्रत्यारोपण लगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।

अन्तरदेशीय संगठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन सकेका नसकेका उल्लेख गर्दै उहाँले नेपाल पनि यस अमानवीय समस्याबाट प्रभावित भएकाे लेख्नुभएकाे छ । अपराधजन्य यस कार्यमा संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेका उहाँले उल्लेख गर्नुभएकाे छ ।