काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८६ (झ)’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल भदौ २४ गते आइतबार अपरान्ह ३ बजेसम्म हुनेछ । यही भदौ २५ गते सोमबार निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८६ साल भदौ २५ गते भुक्तानी हुनेछ ।
त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीले १५ प्रतिशत बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् । खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछन् ।














प्रतिक्रिया दिनुहोस्