जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार १९:०६

प्रचण्डलाई पदमा राखिरहन सकिन्न, सरकारको नेतृत्व अव देउवाले गर्नुपर्छ : शेखर कोइराला


मकवानपुर, भदौ २४। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै पार्टी सहभागी भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अराजक भएको भन्दै फेर्नुपर्ने बताउनु भएको छ ।

११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा ११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न आउनु भएका नेता कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गरिनुपर्ने बताउनु भयो ।

कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको भन्दै प्रधानमन्त्रीमा राखिरहन नमिल्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको भन्दै कोइरालाले यति अराजक मान्ेछलाई प्रधानमन्त्रीको कुर्सीमा राखिरहन नमिल्ने प्रष्ट पार्नुभयो ।

‘प्रधानमन्त्रीले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस, हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो, यस्तो अराजक काम गर्नेलाई राखिरहन मिल्दैन,’ कोइरालाको भनाई थियो ।

उहाँले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको ठोकुवा गर्नुभयो । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ कोइरालाको भनाई थियो ।