काठमाडौं, भदौ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादीका लागि सरकारले राष्ट्रिय पुँजीपति वर्गलाई दुःख दिने काम गरिरहेको बताउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य पुँजीलाई संरक्षण गर्नुपर्नेमा अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुःख दिने काम गरेको बताउनु भयो ।
व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको अध्यक्ष ओलीले बताउनु भयो । अध्यक्ष ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारबाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तथ्य राख्नुभयो ।

उहाँले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउँदा चट्याङ परेको जस्तो भएको समेत बताउनुभयो । राज्यको गलत नीतिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै अध्यक्ष ओलीले अप्ठेरोमा परेकाहरुलाई बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कांग्रेस नीतिगत हिसावले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको बताउनुभयो । २–४ क्वीन्टल सुन ल्याउन जस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको ओलीको भनाई थियो ।

‘माओवादीलाई नीतिको अर्थ छैन । माओवादी भन्ने पाटीलाई नीतिसँग कुनै सरोकार छैन । उसले फाइदामात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्विन्टल क्विन्टल सुन ल्याएजस्तो फाइदा सहकारीतिर लागेर, गाउँका मान्छेलाई सानातिनामा जोडेर के फाइदा छ ? उसलाई त ठ्याकठ्याक फाइदा चाहियो । यसो हेर्दा टिलिक्क टल्किने खालको फाइदा चाहियो ? मोटो रकममा फाइदा चाहियो । खुद्रामा अल्झिने जातै होइन,’ अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदूपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने बताउनुभयो । सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केही सहकारीमा समस्या देखिएको पनि उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्