बेइजिङ, भदौ २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।
भेटबार्ताको क्रममा एमाले महासचिव पोखरेलले नेपालले जारी गरेको पूर्ण नक्साको बिषयमा गम्भीर ढंगले कुरा उठाउँदै चीनको साथ माग्नुभएको छ । ‘१८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं,’ भेटमा महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले आफूहरु एक चीनको नीतिप्रति प्रतिवद्ध रहेको भन्दै नेपालको नक्सामा चीनको पनि साथ चाहिएको प्रष्ट पार्नुभयो । ‘हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्छौ,’ महासचिव पोखरेलले भन्नुभयो । केही समयअघि चीनले आफ्नो नक्सामा नेपालको पुर्ण नक्सा नभई पुरानो नक्सा राखेको थियो । सो बिषयमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको ध्यानाकर्षण गराउँदै सच्याउन सुझाउनु भएको हो ।
उहाँले अगाडि थप्नुभयो, ‘नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ ।’ महासचिव पोखरेलले आफूहरु बलियो राष्ट्रिय शक्ति निर्माणमा अग्रसर रहेको जानकारी पनि गराउनु भयो ।
‘नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेका छौं । यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ । फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौं,’ महासचिव पोखरेलले भन्नुभयो, ‘२०८४ सालको आमनिर्वाचनमा हामी निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पुरा गर्ने लक्ष्यसहित क्रियाशिल छौं ।’
उहाँले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको पनि प्रष्ट पार्नुभयो । ‘हामी हाम्रो अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहे छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
जवाफमा चिनिया विदेश विभाग प्रमुख लिउले एक चीन नीतिमा दृढ रहेकोमा नेकपा एमालेलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं ।’
लिउले नेपाल र चीनबीच फाटो ल्याउने तत्वहरु पनि रहेको भन्दै सतर्क हुन आग्रह गर्नुभयो । ‘चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि छन,’ उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरु र तपाईहरुको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ ।’
उहाँले थप्नुभयो, ‘नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।’ उहाँले दुवै पार्टीको उच्चस्तरीय भ्रमणलाई अझै बढाउनु पर्ने पनि बताउनु भयो ।
‘दुई पार्टीका उच्चस्तरी नेताहरुको भ्रमणलाई अझ बढाउनु पर्छ,’ लिउले भन्नुभयो, ‘चीन सधैंभरी शान्ति, बिकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भबिष्यमा पनि तपाईहरुले यसतर्फ चाल्ने पाइलामा सधैं साथ र सहयोग रहनेछ ।’ महासचिव पोखरलेको भ्रमण दल आज छिन्हाई शहर जानेछ । महासचिवसँगै विदेश विभाग प्रमुख लिउ पनि जानु हुनेछ । त्यहाँ आयोजित कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्