जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार १६:४०

सुवासको महाप्रस्थानले शोकमा डुब्यो सिंगो देश : रसाए ओली–प्रचण्डदेखि सवै मलामीमा आँखाहरु (फोटोफिचर)


काठमाडौं, भदौ २८ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम बिदाइमा सिंगो देश शोकमा डुवेको छ । सालिन र भद्र नेता नेम्वाङको अन्तिम बिदाईमा पशुपति आर्यघाटमा जनसागर उर्लिएको छ ।

बिहीबार बिहानबाट उहाँको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा पशुपति आर्यघाटसम्म पुग्दा अन्तिम श्रद्धाञ्जलीका लागि जनसागर उर्लिएको हो ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, नेकपा एमालेका पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरु लगायत राजनीतिक दलका नेताहरू, सुरक्षा अधिकारी, उच्च अधिकारी लगायत सर्वसाधारण समेत नेम्वाङको अन्तिम बिदाइको लागि आर्यघाट पुग्नु भयो । उहाँको अन्तिम बिदाईमा पशुपति आर्यघाट क्षेत्र खचाखच भयो ।

उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउनु भयो भने ओलीले पार्टीको झण्डा ओढाउनु भएको छ । अन्य नेता तथा उच्च अधिकारीले उहाँको पार्थिव शरीरमा पुष्प गुच्छा चढाएर अन्तिम बिदाइ गर्नुभएको छ ।

पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्दा उपस्थित सवैका आँखा रसाएका थिए । नेम्वाङको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । किराँत र हिन्दु परम्परा अनुसार आज उहाँको अन्त्येष्टि गरिएको छ । नेम्वाङको मंगलबार बिहानीपख ह्रदयघातको कारण निधन भएको थियो ।

नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको अभियान चलाउने नायक नेम्वाङ आजबाट धर्तीबाट महाव्रस्थान गर्नुभएको हो । पञ्चायत फाल्ने आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी गर्ने हिम्मतवाला नेता सुवास सवैलाई रुवाएर २०८० साल भदौ २६ गते बिहान १.४० बजे धर्तीबाट सदाका लागि बिदा हुनुभएको थियो । आज अन्तिम संस्कार गरिएको छ ।

सत्यको पक्षमा सधैं उभिने र आफ्नो अडानमा सदा सर्वदा रहिरहनुपर्छ भन्ने मान्यता बोक्नु हुने सुवास २०६२÷०६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा सहमति सहकार्य र एकताको मियो बन्नुभएको थियो ।