जनता टाइम्स

३० भाद्र २०८०, शनिबार ०९:४०

दुबईबाट हुने सुन तस्करीमा पनि कांग्रेस-माओवादी नेताकै संलग्नता भेटियो, बाग्मतीका मन्त्री तीर्थ लामाको देखियो कनेक्शन


काठमाडौं, भदौ ३० । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी सञ्जालको प्रारम्भिक अनुसन्धानमा नेपाली कांग्रेसका नेता एवं बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता रहेको तथ्य खुलेको छ ।

दुबईबाट हिमालयन एयरलाइन्सको उडानमा आएका बाबुलालले मलद्वारमा लुकाएर ल्याएको सुन बरामद गरिएको थियो । यो गिरोहसँगै बरामद भएको गाडीसमेत तीर्थ लामाले प्रयोग गर्ने गरेको पाइएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट भदौ २५ गते बाबुलाल दोङसहित भरियाबाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा काभ्रे कांग्रेसका सभापतिसमेत रहेका मन्त्री लामाको संलग्नता भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मन्त्री लामाकै विशेष सहयोगी विकास लामाले दुबई बसेकै बेलादेखि सुन तस्करीको काम गर्दै आएको तथ्य खुलेको छ । बिकाशलाई समानुपातिक उम्मेदवार बनाउनसमेत जिल्ला सभापति तीर्थले सिफारिस गर्नुभएको थियो ।

पछिल्लो पटक बरामद भएको १ किलो सुन प्रकरणमा प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई पनौती नगरपालिका– ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका– ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका– ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ । सोही समुहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने प्रहरीले खोजेपछि फरार हुनुभएको छ । विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागका सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ ।

प्रहरीले अनुसन्धानको क्रममा यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको तथ्य भेट्टाएको छ । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले फरार भएका हुन । अभियुक्तबाट बरामद भएको क्रेटा गाडीबाट मन्त्री तीर्थ लामाले काटेको चेकसमेत भेटिएपछि उहाँको संलग्नता खुलेको हो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा काभ्रेको महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जन (लामा)को व्यवसायिक साझेदारका रुपमा मन्त्री तीर्थ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष जीतेन्द्रमान तामाङसमेत देखिनुभएको छ । जीतेन्द्र पनि नेपाली कांग्रेसका नेता हुनुहुन्छ ।

पक्राउ परेकामध्ये बाबुलाल दोङ भने माओवादी केन्द्रका सांसद सूर्यमान दोङ निकट मानिनु हुन्छ । विकाससँग तीर्थको राजनीतिक निकटतामात्र नभएर व्यवसायिक र करोडौंको आर्थिक कारोबारसमेत पुष्टि हुने आधारहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको बाग्मती प्रदेश ०१ २७ च ९९६० नम्बरको क्रेटा गाडीबाट बरामद भएको चेक तीर्थ लामाको नाममा उहाँकै खाताबाट काटिएको छ ।

यो गिरोहले विगत दुई वर्षदेखि सुन तस्करी गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तीर्थ र विकास तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ । साताको दुई केजी सुन दुबईबाट नेपाल ल्याइ नेपाल र भारतका विभिन्न स्थानमा पुर्याउने अभियानमा उनीहरुको समूह सक्रिय रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।