काठमाडौं, असोज १ । औषधि व्यवस्था विभाग (डीडीए) ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टीबायोटिकको प्रयोगलाई न्यूनिकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि ती औषधी प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनु भयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत बताउनु भयो ।
’डलब्चूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,’ ढकालले भन्नुभयो, ’ती औषधि न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौं ।’ उहाँका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने विभागमा दर्ता गरिएका छन ।
महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्