जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १२:१४

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


काठमाडौ, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएको छ । महासंघले मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । महासंघका अनुसार आजसम्म सुनको मूल्य निरन्तर ३ दिन उकालो लागेको हो । यसअघि सोमबार तोलामा २०० रुपैयाँ र आइतबार तोलामा ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो ।

यससँगै, पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । यसबाहेक, आज चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेसँगै मंगलबार उक्त मूल्यमा चाँदीको कारोबार भएको हो । सोमबार चाँदीको कारोबार मूल्य १४ सय ५ रुपैयाँ कायम छ ।