काठमाडौं, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्थाबारे सबैले सोच्नुपर्ने बेला आएको बताउनु भएको छ ।एमाले केन्द्रीय कार्यालयमा आज पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’ विषय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले देशको अवस्था अहिले निक्कै गम्भीर रहेको बताउनुभयो । ‘आज देश जहाँ पुगेको छ, यतिबेला सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ, साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नु पर्ने अवस्था आज आएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ, नत्र भने अनेक प्रकारका खतराबाट हामी जेलिँदै छौँ ।’
अध्यक्ष ओलीले यो अवस्थाप्रति प्रमुख राजनीतिक दल सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताउनु भयो । प्रमुख राजनीतिक दल जिम्मा जमानी बसेर धेरैका परिवार र घरबार उजाड भएको उहाँले स्मरण गराउनुभयो । ‘प्रमुख राजनीतिक दलको आह्वानमा धेरैले आहुति गरेका छन, धेरैको क्षति भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले धेरै ठुला हिसाब गर्न नसकिने क्षति बेहोरेर आजको अवस्थामा आइपुगेको स्मरण गराउनु भयो । अहिलेको उपलब्धी त्यतिकै नआएको उहाँले बताउनु भयो । त्यसैले अहिलेको उपलब्धिलाई गुम्न नदिने र दिनु नहुने ओलीले बताउनुभयो ।
सुवास नेम्वाङको योगदानको सम्मान गर्न प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नु पर्ने बेला आएको उहाँले बताउनुभयो । नेकपा एमाले यी उद्देश्यलाई तलमाथि हुन नदिन प्रतिबद्ध रहेको पनि ओलीले बताउनुभयो । देश र भूमिको रक्षाका निमित्त नेकपा एमाले प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनु भयो । देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न नेकपा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
देशको पछौटेपन र गरिबी हटाउन एमाले प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नुभयो । सामाजिक सदभावमा आधारित राष्ट्रिय एकताको पक्षमा एमाले रहेको उहाँले बताउनुभयो । देशमा अहिले प्रतिशोधको राजनीति मौलाएको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । कसैलाई सिद्ध्याउने राजनीतिले देश अघि नबढ्ने उहाँले बताउनुभयो । देश र व्यवस्थाको रक्षाको लागि सबै एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको ओलीले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्