जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १६:५३

प्रदेशको पहिचान झल्कने गरी एमाले गण्डकीले गर्यो प्रथम अधिवेशनको लोगो सार्वजनिक


पोखरा, असोज २ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रथमे अधिवेशनको लोगो सार्वजनिक गरेको छ । अधिवेशन प्रचार प्रसार उपसमितिले आज पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

माछापुच्छ्रे हिमाल र फेवाताललाई समेटिएर लोगो तयार पारिएको लोगो निर्माणका लागि संयोजन गरेका प्रदेश प्रचार प्रसार उपसमिति सदस्य विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

‘गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरले भरिपूर्ण प्रदेश हो । प्रदेशका ११ वटै जिल्लाका आआफ्नै पहिचान छ । मुक्तिनाथदेखि गजेन्द्र मोक्ष, विन्दावासिनीदेखि मनकामनासम्मका प्राकृतिक तथा सास्कृतिक सम्पदाले प्रदेश भरिपूर्ण छ,’ न्यौपानेले भन्नुभयो, ‘प्रतिकात्मक रुपमा माछापुच्छ्रे हिमालको शिर र फेवातालको काखलाई समेटेर लोगो तयार पारेका छौं ।’

प्रदेशका सबै तहका नेतासँग सल्लाह समन्वय गरेर लोगो तयार परिएको प्रदेश प्रचार प्रसार उपसमिति सदस्य न्यौपानेले बताउनु भयो । ‘प्रदेशभित्रका पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुसँग सल्लाह, समन्वय गरेर लोगो तयार पारेका हौं’, उहाँले भन्नुभयो ।

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ गते उदघाटन गर्ने कार्यक्रम छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन शत्रमा ५० हजार कार्यकर्ता उतार्ने एमालेले जनाएको छ ।