धनगढी, असोज २ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सुवास नेम्बाङलाई संविधान सभाको नेतृत्वकर्ताका रुपमा मात्रै बुझ्न नहुने बताउनु भएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रममा प्रमुख बक्ताको रुपमा बोल्दै पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो । उहाँले सुवास नेम्बाङ बहुप्रतिभाका धनी भएको भन्दै उहाँको निधनले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षती पुगेको बताउनु भयो ।
‘सुवास नेम्बाङ संविधान सभाका नेतृत्वकर्ता हुनुहुन्थ्यो नै, उहाँमा जस्तोसुकै असहज परिस्थितिको सामना सालिनतापूर्वक गर्ने सामर्थ्य थियो । फरक फरक सिद्धान्तका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो,’ पौडेलले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले दिवंगत उपाध्यक्ष सुवास नेम्बाङसँगका अन्तरंग कुराहरु उल्लेख गर्दै उहाँको निधनले एमालेभित्र मात्रै होइन, देशले नै कुशल नेतृत्व गुमाएको बताउनु भयो । उपाध्यक्ष पौडेलले नेम्वाङ नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताका पर्यायका रुपमा स्थापित भएको पनि बताउनु भयो ।
नेकपा एमालेका सचिव तथा सुदुरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले सुवासको निधनले ठूलो क्षती पुगेको बताउनु भयो । उहाँले भावुक हुँदै भन्नुभयो, ‘मलाई उहाँको तस्बिर हेर्दा कतै ‘माननीय सदस्यहरु’ भनिहाल्नु हुन्छ की जस्तै भइरहेको छ । उहाँको तस्बिर हेर्दा, कतै बोलिहाल्नु पो हुन्छ की भन्ने लागिरहेको छ । तर त्यो सत्य हो, उहाँले भौतिक शरिर छोडेर जानुभयो, तर उहाँ हामी माझमै हुनुहुन्छ ।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सुवासमा सवैलाई मिलाएर लैजान सक्ने अदभुत क्षमता रहेको बताउनु भयो । ‘नेम्बाङले सभामुख हुँदा राजनीतिक पक्षपात कहिले पनि देखाउनु भएन । उहाँका कर्मले अहिले नेम्बाङ जनजनको मनमा बस्नु भएको छ,’ मुख्यमन्त्री शाहले भन्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले नेम्बाङ जस्तो सालिन सभामुख अब कहिल्लै नपाईने बताउनु भयो । ‘उहाँ संविधान सभाको नेतृत्वकर्ता मात्रै होईन, एक सालिन र सभ्य राजनीतिकर्मी हो । उहाँको मनमा कहिल्लै कसैप्रति रिसराग देखिएन, त्यसैले देशले नेम्बाङको कमी कालान्तरसम्म महसुस गरिरहने छ,’ भट्टले भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यबाहक प्रदेश अध्यक्ष लोकराज अवस्थी, लीला भण्डारी, धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना लगायतगले ‘सुवास र संबिधान विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले सुवास नेम्वाङले कसैले पनि बिर्सन नसक्ने गरी कामबाटै अमिट छाप छाडन सफल भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्