जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार ०७:४१

कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिकाभर सार्वजनिक बिदा


काभ्रे , असोज ४ ।  काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा आज बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाकाको लेटरहेडमा बेनामे हस्ताक्षरमा पालिकाको वेभसाइटमार्फत सार्वजनिक गरिएको सूचनामा संविधान दिवसका दिन पालिकाको नयाँ प्रशासनिक भवन उद्घाटनका क्रममा खटिनुपर्दा कर्मचारी गलेको भन्दै आज अर्थात ४ असोजमा सार्वजनिक बिदा हुने उल्लेख छ ।

नगरपालिकाले गत ३१ भदौ देखिनै नगरपालिकाका सबै सेवा बन्द गरेर पुरानो भवनबाट नयाँ भवनमा सामान सार्ने काम गरेको नगरका कर्मचारीहरु बताउँछन् । सामान सार्ने धपेडीका कारण कर्मचारी गलेर नगरपालिकाका कर्मचारीलाई एक दिन बिदा दिएपनि विद्यालयदेखि सवै सरकारी र गैरसरकारी कार्यालयमा किन बिदा दिनुपरेको भन्ने विषयमा भने नगरपालिका मौन छ ।

नगरपालिकाका एक कर्मचारीले भने केही कर्मचारीको दवावमा पालिकाभर बिदा दिने निर्णय भएको बताए ।सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय शिक्षा विधेयकका विरुद्ध विद्यालय बन्द गरेर आन्दोलनमै छन् भने नगरपालिकाको यो निर्णयका कारण पालिकाभित्र भएका सवै सरकारी कार्यालय, बैक तथा बित्तीय संस्था र गैरसरकारी कार्यालयहरु बिदा हुनेछन् ।