काठमाडौं, असोज ४ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन निर्देशन दिएको हो । समितिले यस निर्णयअनुसार काम गरी जानकारी गराउनसमेत निर्देशन दिएको छ ।
यसैगरी बैठकले सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिएको छ ।
‘नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कुल कति छन् ? र मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो,’ बैठकपछि समितिका सभापति रामहरि खतिवडाले भन्नुभयो ।
नेपाल सरकारका मन्त्रीहरूलगायत सम्पूर्ण पदाधिकारीहरुले नियमानुसारभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको छ भने त्यो पनि नियमभन्दा बाहिर सम्पूर्ण फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको उहाँको भनाई छ ।
’नेपाल सरकार तथा प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्नका लागि सार्वजनिक बिदाका दिन अफिस खोल्ने निर्णय भएको सुनिन आएको थियो । नेपाल सरकारले गरेका निर्णयमा आर्थिक सहयोगको निर्णयचाहीँ तुरुन्त कार्यान्वयन हुने र अरु निर्णय अलि पछिपछि कार्यान्वयन हुने हुँदा यसलाई पनि बिदाको दिन अफिस खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने समितिको निर्णय छ‚’ सभापति खतिवडाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्