जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १८:४४

सेनाको क्यान्सर निको पार्न अझै कठोर हुन्छु, बाधा–व्यवधान पन्छाएर पद हस्तान्तरण गर्छु : सेनापति थापा


काठमाडौं, भदौ २४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र देखिएको क्यान्सरलाई निको पारेरै छाडने घोषणा गर्नुभएको छ । संगठनभित्रको क्यान्सर निको पार्न आगामी वर्ष आफू अझै कठोर हुने भन्दै सच्चिन सेनाका सकल दर्जालाई सचेतसमेत गराउनुभएको छ ।

नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले आफ्नो एक वर्षे अनुभव सुनाउनु भयो । सो क्रममा प्रधानसेनापति थापाले जर्जर महलको तीन वर्षे हाकिम भएर विदा हुनुभन्दा सुरुमै आवश्यक मर्मत सम्भार गर्नुपर्छ भनेर आफूले सुधार अभियान थालेको जनाउ पनि दिनुभयो ।

‘परम्परागत शैलीबाट संगठन चलायौं भने हामी त सेवानिवृत्त भएर जान्छौं, तर निकट भविश्यमा कुनै एक दिन फर्किन नसक्ने गरी समस्याहरुको भूमरीमा परी टाउकोमा हात राखेर बस्नुपर्छ अवस्था तपाईंहरुले भोग्नु पर्नसक्छ,’ प्रधानसेनापति थापाको भनाई थियो । सुधार अभियान सुरु गर्दा एक वर्षको अवधि धान्न चुनौतीपूर्ण होला भन्ने आफ्नो विश्लेषण रहेपनि संगठनमा देखिएको उत्साह र सकारात्मक प्रभावले थप एक पाइला अगाडि बढ्न हौसला मिलेका अनुभव पनि उहाँले सुनाउनु भयो । शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण तर सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएको उहाँको भनाई थियो ।

आफूले चालेको कदमले सेवारत जर्साबहरुलाई बाधा पुगेको हुनसक्ने भए पनि सबैले सहयोग गरेको प्रधानसेनापति थापाको भनाई थियो । संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, घरकाज, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई पहिल्याइएको उहाँले प्रष्ट पार्नुभयो । ‘जहाँ समस्या छ, त्यहाँ औषधि र सर्जरी गर्दैनौं भने निको कसरी हुन्छ ?, केही समस्या नियमित अभ्यासले संस्थागत भएको होला । र, यो समाधान गर्न केही समय पनि लाग्न सक्छ,’ प्रधानसेनापति थापाले भन्नुभयो, ‘केही घाउ खटिरा हुनसक्छन । घाउका रुपमा केही अवशेष र क्यान्सर बाँकी रहृयो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइरहने छ ।’

सम्बोधनको क्रममा प्रधानसेनापति थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि प्रणाली र पद्धतीमा सुधारको प्रयास नथालेको पनि प्रष्ट पार्नुभयो । ‘मसँग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु,’ थापाले भन्नुभयो, ‘बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार समालेको बर्ष दिनको अवसरमा आज संगठनका विविध गतिविधिको जानकारी दिन आयोजित पत्रकार सम्मेलन तथा चौथोे त्रैमासिक रोलकल कार्यक्रममा विभागीय रथीहरु । तस्वीरः प्रदीपराज वन्त/रासस

यसका लागि आफू अझ कठोर हुने उहाँले प्रष्ट पार्नुभयो । सेनापति थापाले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु,’ प्रधानसेनापति थापाले भन्नुभयो, ‘शल्यक्रिया गर्नुपर्ने घाउलाई हृयाण्डिप्लास्ट वा टालोले छोप्न खोज्नु समयको बर्बादी मात्र हो । त्यसैले ओखती मात्र होइन, शल्यक्रिया आजबाट सुरु गरौं ।’

प्रधानसेनापति थापाले कुनै एक ब्यक्तिले गरेको अपराधको सजाँय सेनाले बोक्न नसक्ने घोषणा पनि गर्नुभयो । ‘अरुले गरेको गल्ती, कमजोरी वा अनैतिक लाभको पापको भारी मैले किन बोक्ने ? एकाध व्यक्तिले गरेको अपराधका कारण सेनाको प्रतिष्ठामा आँच आउन किन दिने ? एकाध व्यक्तिका कारण संगठन किन बद्नाम हुने ?’ प्रधानसेनापति थापाको भनाई थियो । अझै पनि सच्चिनेहरुलाई कुर्ने धैर्य आफूसँग रहेको जनाउ पनि उहाँले दिनुभयो । ‘कुर्ने धैर्य छ तर कहिलेसम्म ?’ प्रधानसेनापति थापाको भनाई थियो । प्रधानसेनापति थापाले कार्याकालको अन्तिम वर्ष नेतृत्व हस्तान्तरणमा केन्द्रित रहने भन्दै त्यसअघि नै संगठनको क्यान्सर निको पार्ने आफ्नो लक्ष्य र योजना पनि सुनाउनु भयो ।