जनता टाइम्स

७ आश्विन २०८०, आईतवार ०८:५४

सरकारको भर पर्दा करोडौँको लगानी जोखिममा


भैरहवा, ७ असोज । उद्योगी व्यवसायीले निजी क्षेत्रको करोडौँ लगानी जोखिममा रहेको बताएका छन् । शनिबार भैरहवामा भएको चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्दै उनीहरुले सरकार र बैंकको कारणले उद्योग व्यवसाय गर्नेहरु पनि अहिले पेशा छाडेर विदेश पलायन हुने अवस्थाको सिर्जना भएको बताएका हुन् । सरकारले निजी क्षेत्रको संरक्षण गर्नुपर्ने ठाँउमा कुरा पनि सुन्ने नचाहेको उद्योगी व्यवसायीको गुनासो छ ।

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारको भर पर्दा अरबौंको लगानीमा जोखिममा परेको बताउनुभयो । उहाँले सरकार भन्दा बढि निजी क्षेत्रको लगानी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रित भई भएको बताउदै संचालन हुने आशमा ती लगानी जोखिममा रहेको बताउनुभयो । देशलाई आर्थिक रुपमा समृद्ध बनाउने निजी क्षेत्रका उद्योग व्यवसाय नै रहेकोले अहिले व्यवसाय बचाउन र टिकाउने जस्तो संकटको बेला बैंकले तनाव दिनु उचित नभएको बताउनुभयो ।

‘हामीले पैसा नर्तिने भनेका हैनौ तर अहिलेको परिस्थितीलाई हेरेर बैंकले पनि समन्वकारी भूमिका खेलेर सहयोग गर्नुपर्ने ठाँउमा ज्यादती नै गरेको पाइएको छ,’ उहाँले भन्नुभयो । चर्को बैंक ब्याँज दरले उद्योगी व्यवसायी पीडित भएकोले विषम परिस्थितिमा बैंकबाट सहयोग हुनु पर्नेमा बैंकले उल्टै ब्याँजदर बढाएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्योगी व्यवसायीको हरेक पाइलामा आफू साथ रहेको बताउनुभयो । उहाँले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख खानले भन्नुभयो, ‘पढेलेखेको जनशक्ति विदेश पलायन हुनु चिन्ताजनक अवस्था हो,’ भन्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने र यसका लागि दबाब दिदाँ आन्तरिक उडान समेत बन्द हुने चेतावनी दिनुभयो । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रत्येक पाइलामा साथ दिन्छौं ।’ नगर उपप्रमुख अधिकारीले महिलालाई पनि हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यापार घाटा र विदेशिने नेपालीको संख्या बढेको बताउनुभयो । उहाँले आफू रुपन्देहीको परिवारको सदस्यको रुपमा आएकोले मर्यादित व्यवसाय प्रवद्र्धनमा उद्योगी व्यवसायीको साथ, समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले राज्यले निजी क्षेत्रसँग सम्बन्धित कानून बनाउने समयमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग रायसल्लाह गरी निजी क्षेत्रमैत्री कानून निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्नुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उहाँले थुप्रै व्यवसायिक प्रतिष्ठान बन्द भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिलेको अवस्था उद्योगी व्यवसायीको कारणले सिर्जना नभएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले आफ्ना माग पूरा गराउन उद्योगी व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्मा लगायतले सरकारले निजी क्षेत्रको आवाज सुन्ने नचाहेको, उद्यमशीलतालाई प्राथमिकता दिएर व्यापार घाटा कम गर्न सकिने र स्वदेशी वस्तुको प्रवद्र्धन गर्न राज्यको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रम चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।