जनता टाइम्स

८ आश्विन २०८०, सोमबार ०९:२३

आवासीय प्रशिक्षणले थपेको उर्जा र अठोट


वागमती प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित उक्त दुईदिने ऐतिहासिक आवासीय प्रशिक्षण कार्यक्रमलाई मनैदेखी साथ र सहयोग गर्नु हुने सम्पूर्ण कमरेडहरुलाई स–धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा थप प्रशिक्षणको कार्यक्रमलाई निरन्तरता दिने वाचाका साथ उक्त प्रशिक्षण कार्यक्रमले समाजवादी ब्यक्तित्व निर्माण र शक्तिशाली संगठन निर्माणमा थप बल र उत्साह प्रदान गरेको अनुभूति भएको छ

अशोककुमार ठकुरी

यही भाद्र ५–६ गतेसम्म मकवानपुर जिल्लास्थित चित्लाङमा नेकपा (एमाले) वागमती प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित ’आवासीय प्रशिक्षण कार्यक्रम’लाई भब्य र सभ्यताका साथ सम्पन्न गर्यौ । उक्त दुईदिने कार्यक्रमलाई केन्द्रबाट प्रशिक्षण दिनको निम्ति पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डित हुनुहुन्थ्यो ।

प्रशिक्षण दिने क्रममा प्रमुख अतिथि एवं महासचिव शंकर पोखरेलले समसामहिक राजनीतिक परिदृष्य र नेकपा एमालेको भूमिकाबारे प्रष्ट्याउनु भयो भने विशेष अतिथि एवम् उप–महासचिव पृथ्वीसुब्बा गुरुङले सांगठानिक बिषयमा प्रशिक्षार्थीहरुलाई अबगत गराउनु भयो ।यसैगरी, सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डितले पार्टीको विधि र विधानको बारेमा खुलस्त रुपले आफ्नो विचारहरु ब्यक्त गर्नुभयो । वागमती प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित उक्त कार्यक्रममा सदस्यहरु, सम्बन्धित प्रदेश सम्पर्क कमिटी मातहत रहेका प्रत्येक जिल्ला सम्पर्क मञ्चहरुबाट दुई–दुई जना र वागमती प्रदेश सम्पर्क कमिटीबाट सम्पर्क समन्वय कमिटीमा प्रतिनिधित्व गर्नुभएका कमरेडहरुको बाक्लो र न्यानो उपस्थितिले हामी आयोजक कमिटी अत्यन्त हर्षित र उत्साहित भएका छौं ।

हामीमाझ सम्पर्क समन्वय कमिटी संयोजक र उप–संयोजक क्रमशः श्याम बस्नेत र ठानेश्वर बस्याललगायत वागमती प्रदेश सम्पर्क कमिटी ईन्चार्ज, पार्टी केन्द्रिय कमिटी सदस्य एवम् संघीय सांसद रुक्मिणी राणा, केन्द्रीय अनुशासन आयोग सदस्य एवं संघीय सांसद रणकुमारी बलमपाकी मगर र मकवानपुर जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थितिले थप उर्जा पनि प्राप्त भएको छ ।

आगामी ०८४ को आवधिक निर्वाचनलाई मध्यनजर गर्दै जनताको निर्णायक शक्ति नेकपा (एमाले) लाई राज्यको निर्णायक तहमा स्थापित गर्दै वैज्ञानिक समाजवाद उन्मुख अर्थब्यवस्थालाई यो मुलुकको विशिष्ट परिस्थिति अनुरुप प्रादूर्भाव गर्न सर्वप्रथमतः हामी कम्युनिष्टजनहरु मार्क्सवादी विचार र सिद्धान्तबाट प्रशिक्षित हुनै पर्दछ । अन्यथा, जनताले लडेर ल्याएको अहिलेका प्राप्त राजनीतिक उपलब्धिहरुलाई प्रतिक्रियावादी शक्तिहरुले उल्टाउँदै उही पुरानो सत्ताको सामन्ती प्रवृत्तिमा हामी जस्ता श्नमजीवीवर्गलाई शोषण र दमनको जंजीरमा फेरी बाँधेर राख्नेछन ।

त्यो हामी हुन दिदैँनौं किनकि यो हाम्रो ब्यवस्थामा शोषक, सामन्ती र सामाजिक फटाहाहरुले रजगज गर्न खोज्नु भनेको मुलुक र जनतालाई विगतको अँध्यारो कालो कोठरीमा पुर्याएर राज्यसत्तालाई आफू अनुकूल चलाउँदै मुलुकलाई विश्वको एक गरिब समूहमा पुर्याउनु हो । त्यसका निम्ति हामी सम्पूर्ण मुक्तिकामी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प रहन्न । त्यो एकतावद्धको माला भनेकै हाम्रो मेलखाने विचार र सिद्धान्तको संगम हो । जुन संगम स्थलमा हामी उभिन पुगेका छौं, त्यसलाई मार्गनिर्देश गर्न हामीहरुले प्रशिक्षकको रुपमा केन्द्रिय नेताहरु पाएका छौं ।

कार्यक्रमका प्रमुख प्रशिक्षक एवं पार्टी महासचिव शंकर पोखरेलले भन्नु भए झैं राजनीति भनेको एकाँध ब्यक्ति परिवर्तनको निम्ति भन्दापनि समाजको उपेक्षित विशाल श्रमजीवीवर्गको जनजिविकाका सवालहरुको समाधानको निम्ति हो । त्यसैले, पार्टीभित्र देखापरेका दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतालाई परास्त पार्न र जनताको बहुदलीय जनवादको मार्गनिर्देशमा वैज्ञानिक समाजवाद उन्मुख अर्थब्यवस्था निर्माण गर्न आगामी निर्वाचनबाट नेकपा (एमाले) को नेतृत्वमा एकल बहुमत ल्याउन सम्पर्क कमिटीहरुले पनि आफ्नो भूमिकालाई फराकिलो पार्न सल्लाह र सुझाब दिनुभयो । प्रशिक्षणकै क्रममा अर्का प्रशिक्षक एवं पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतालाई निर्मूल पार्न हाम्रा कमिटी र संगठनहरु मार्क्सवादी–लेनिनवादी र जनताको बहुदलीय जनवादका कार्यक्रमहरुद्धारा सुसुजित हुनुपर्छ भनी जोड दिनुभयो ।

हाम्रा संगठनहरु लेनिनवादी सांगठानिक पद्धति अन्तर्गत रहेको जनवादी केन्द्रीयतालाई भूल्नु हुँदैन भन्नुभयो । जनवादले श्रमजीवी विचार र सिद्धान्तको पैरवी गर्छ भने केन्द्रीयताले अनुशासनको अध्यायलाई जोडदिन्छ भन्नुभयो । यसको मूल उदेश्य भनेकै जनवादबिनाको केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिनाको जनवाद अराजकता हुने हो । त्यसैले, जनवाद र केन्द्रीयता एक अर्काका परिपुरक तत्वहरु हुन । यसो हुनसकेको खण्डमा मात्रै कुनैपनि कम्युनिष्ट संगठनहरुले निर्देशित लक्ष्यहरु सजिलै हात पार्न सक्दछ । समयक्रमसँगै हाम्रा सामाजिक मुद्दाहरु पनि परिवर्तन हुँदै जाने हुँदा हामी मार्क्सवादीहरु सामाजिक मुद्दाहरुको अध्ययनलाई पनि गम्भिरताका साथ लिनुपर्छ ।

आफूले आफैंलाई समय सापेक्षा बनाउँदै जानुपर्छ । जनतासँगको सहकार्यलाई जनमुद्दाको बहसले संयोजन गर्नु नै हामी श्रमजीवीवर्गहरुको जित सुनिश्चित हुनु हो । सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डितले विधि र विधानको कुल्चाइले संगठनमा अराजकताको स्थिति सृजना हुने दाबी गर्नु भयो । सम्पूर्ण श्रमजीवीवर्गका पक्षधरताहरुले विधि र विधानको पद्धतिलाई अनुशरण गर्न निर्देशन दिनुभयो । अहिले पार्टीभित्र देखिएको सांगठानिक अराजकता विधानलाई कुल्चेर हिड्दाको परिणाम हो भन्दै यसलाई कडाईका साथ आ–आफ्नो ब्यवहारिक जीवनमा लागू गर्न समेत सबै कमरेडहरुलाई विनम्र आग्रह गर्नु भयो ।

वागमती प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित उक्त दुईदिने ऐतिहासिक आवासीय प्रशिक्षण कार्यक्रमलाई मनैदेखी साथ र सहयोग गर्नु हुने सम्पूर्ण कमरेडहरुलाई स–धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा थप प्रशिक्षणको कार्यक्रमलाई निरन्तरता दिने वाचाका साथ उक्त प्रशिक्षण कार्यक्रमले समाजवादी ब्यक्तित्व निर्माण र शक्तिशाली संगठन निर्माणमा थप बल र उत्साह प्रदान गरेको अनुभूति भएको छ ।