जनता टाइम्स

१० आश्विन २०८०, बुधबार २०:१३

क्विन्टलका क्विन्टल सुन तस्करी गर्नेहरूले काँक्रो आफू खाएर बियाँ एमालेको गालामा टास्न ल्याउने प्रयत्न गरिरहेका छन : ओली


सुर्खेत, असोज १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका विरुद्ध अनेक खालका घेराबन्दी र हमलाको प्रयास भएको बताउनु भएको छ ।

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहलाई आज सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाले सबै घेराबन्दीलाई तोडेर अघि बढ्न एमाले सक्षम रहेको उदघोष पनि गर्नुभयो । यही कामका लागि नै नेकपा एमालेले मिसन २०८४ को अभियान सुरु गरेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

मिसन २०८४ लाई सबैले आफ्नो हिस्सामा परेको जिम्मेवारी पूरा गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले एमालेलाई २०८४ मा एकल बहुमतको पार्टी बनाउने अठोटसहित काम गर्न सवैलाई आग्रह गर्नुभयो ।

एमालेका विरुद्ध विरोधीले अनेक बहाना गरेर प्रचार गर्ने गरेको पनि ओलीले बताउनुभयो । एमालेमा सर्वसम्मति भयो भने त्यो पार्टीमा आन्तरिक लोकतन्त्र छैन, चुनाव नै लड्न दिइँदैन भन्ने र चुनाव लड्दा मिलाउन सकेनन भन्ने आरोप विरोधीले लगाउने गरेको उहाँले स्मरण गर्नुभयो ।

राष्ट्रिय स्वाभिमानको झण्डा एमालेले मात्र उठाउने पनि उहाँको भनाई छ । ‘देशको सार्वभौमसत्ता धरापमा पार्न खोजिएको छ, स्वाधीनताको हुर्मत लिइएको छ’, अध्यक्ष ओलीले भन्नुभयो । नेकपा एमाले राजनीतिक लडाइँ लडिरहेको बताउँदै अध्यक्ष ओलीले यो लडाई सजिलो नभएको बताउनुभयो । क्विन्टलका क्विन्टल सुन तस्करी गर्नेहरूले काँक्रो आफू खाएर बियाँ एमालेको गालामा टास्न ल्याउने प्रयत्न गरिरहेका उहाँले टिप्पणी गर्नुभयो ।

विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन सरकारको निर्देशन र संरक्षणमा भएको उहाँले बताउनुभयो । ‘कसको संरक्षणमा यो काम भइरहेको छ, हामीले देखेको छ’, ओलीले भन्नुभयो । एमाले एक महिना आन्दोलन गरेर सुन तस्करीको छानबिन गर्ने समिति बनाउन गठबन्धन सरकारलाई सहमत गराएको भए पनि अहिले सरकार समिति बनाउनबाट भागिरहेको ओलीले बताउनुभयो । एमालेसँग गरिएको सहमतिलाई ख्यालठट्टा नठान्न ओलीले चेतावनी दिनुभयो ।

सुशासन र विकासको लागि एमालेले अगुवाइ गर्ने उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमाले अरू जस्तै पार्टी मात्रै नभएर विकासको नायक भएको उहाँले बताउनुभयो । एमाले सुशासनको अगुवाइ र सामाजिक परिवर्तनको नेतृत्व गर्ने ओलीको भनाइ छ । आफ्ना छोरी, ज्वाइँ भाइ भतिजालाई पालने पोषण गर्नेले देश विकासको काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।