जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार ०८:२९

एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी घोषणा, यस्ता छन २४ बाचा


काठमाडौं, असोज ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतर्त्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसक्नु भएको छ ।

दोहास्थित र्यार्डिसन ब्लु होटलमा मध्यपूर्वलगायत विभिन्न देशका एनआरएनएका अध्यक्षहरु तथा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले आफू अध्यक्ष पदमा निर्वाचित भए २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो ।

‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गर्नुभएको हो ।

विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको शर्माले बताउनुभयो । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने जिकिर शर्माको छ ।

‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ,’ शर्माले भन्नुभयो ।

अध्यक्ष पद प्राप्त गर्ने आफ्नो अभिलाषा नभएको बताउँदै उहाँले एनआरएनएका लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्रै खोजेको बताउनु भयो ।

२४ बाचापत्रमा के छ ?

वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति : सुधारौं श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन : ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफ्नो बाचा पत्रमा उल्लेख गरेका छन् ।

सांगठनिक पुनर्संरचना : पहिला कार्यदलबाट गहन योजना, मानव संशोधन : सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान, आर्थिक कूटनीति : लगानी प्रवर्द्धन मुख्य नीति, गरौँ उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।

गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता : गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल : एक एनसीसी, हजार पर्यटक , घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम : अबको उद्यम, समावेशी अभियान : महिला सदस्यलाई प्रोत्साहन, चुस्त व्यवस्थापन मुख्य सरोकार : बनाऔँ प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन नारासहितको आफ्नो कार्यक्रम अघि सारेका छन् ।