जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार ०९:४९

एकै खेलमा कीर्तिमानको ओइरो, क्रिकेटमा नेपालको ५ विश्व कीर्तिमान


काठमाडौं, असोज ११ । चीनको हाङआचोमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले नवप्रवेसी मंगोलियालाई दुई सय ७३ रनले पराजित गर्दा बिश्व कीर्तिमानको ओइरो नै लागेको छ ।

चीनको हाङचाओस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रनको योगफल खडा गर्यो । जवाफी ब्याटिङ गरेको मंगोलिया १३.१ ओभरमा केवल ४१ रनमा समेटियो । टीट्वेन्टी क्रिकेटमा कुनै पनि टोलीले तीन सयको आँकडा पूरा गरेको यो पहिलो पटक हो ।

यसअघि टीटीट्वेन्टी क्रिकेटमा सर्वाधिक योगफल अफगानिस्तानको नाममा रहेको थियो । अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो । सन २०१९ मा आयरल्यान्डविरुद्ध अफगानिस्तानले यो योगफल खडा गरेको थियो । यस्तै मंगोलियाविरुद्ध नेपालको जित पनि सबैभन्दा फराकिलो जित हो । यसअघि सन २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध दुई सय ५७ रनको जित हात पारेको थियो ।

टीट्वेन्टी क्रिकेटमा नेपाललाई कीर्तिमानी जित दिलाउन कुशल मल्लले एक सय ३७ रनको अविजित शतकीय पालि खेले । आक्रामक ब्याटिङ गरेका कुशलले ५० बलमा १२ छक्का र आठ चौका प्रहार गरे । कुशलले ३४ बलमै शतक प्रहार गरेर टीट्वेन्टी क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि टीट्वेन्टीमा सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो ।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमशेखरले ३५ बलमा शतक प्रहार गरेका थिए । टीट्वेन्टी फरम्याटको फ्रेन्चाइज क्रिकेटमा भने ‘युनिभर्सल बोस’का नामले परिचित वेस्ट इन्डिजका क्रिस गेलले ३० बलमा शतक पूरा गरेका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरका गेलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन् २०१३ मा पुने वारियरविरुद्ध ३० बलमै शतक बनाएका थिए । कुशल शतक बनाउने दोस्रो कान्छा खेलाडी हुन । कुशलले १९ वर्ष २०६ दिनमा टीट्वेन्टी क्रिकेटमा शतक बनाएका हुन । यसअघि फ्रान्सका गुस्तोभ म्याकोनले १९ वर्षमै टीट्वेन्टीमा शतक बनाएका थिए ।

नेपालको विशाल पालिमा कप्तान रोहित पौडेलले ६१, दीपेन्द्रसिंह ऐरीले अविजित ५२, कुशल भुर्तेलले १९ र मोहमद आसिफ शेखले १६ रन बनाए । दीपेन्द्रले नौ बलमै अर्धशतक प्रहार गरेर सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको किर्तीमान लेखाउन सफल भए । १० बलमा आठ छक्का प्रहार गरेका ऐरी ५२ रनमा अविजित रहे । यसअघि भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

युवराजसँगै वेस्ट इन्डिजका क्रिस गेल र अफगानिस्तानका हर्जतुल्लाह जजईले १२ बलमै अर्धशतक बनाएका थिए । दीपेन्द्र क्रिकेटको सबै फरम्याटमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी पनि बने । यस्तै पाँच सयभन्दा बढी स्ट्राइक रेटमा रन बनाउने दीपेन्द्र पहिलो खेलाडी बने । १० बलमा ५२ रन बनाउँदा उनको स्ट्राइक रेट ५२० थियो । यसअघि जिम्मबावेको घरेलु लिगमा मालकम वाल्कर्सले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

यससँगै नेपालले सर्वाधिक रनरेटमा रन बनाउने कीर्तिमान पनि बनाएको छ । मंगोलियाविरद्ध तीन सय १४ रन बनाउँदा १५.७ को रनरेटमा नेपालले रन बनाएको थियो। सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ बनाउँदा १३.९ को रनरेट थियो ।

नेपालले बुधबार मंगोलियाविरुद्धको खेलमा छक्काको वर्षा गरेको थियो। बुधबार मात्रै नेपाली खेलाडीले २६ छक्का प्रहार गरेका थिए । जसमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले आठ र रोहित पौडेलले ६ छक्का हिर्काए । एकै खेलमा सर्वाधिक छक्का पनि यही खेलमा प्रहार भएको हो । यसअघि अफगानिस्तान र वेस्ट इन्डिजले एकै खेलमा २२ छक्का हानेको थियो।

सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्ड र गत वर्ष वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध छक्काको वर्षा गरेका थिए । मंगोलियाले बनाएको ४१ रनमध्ये ५६ प्रतिशत रन अतिरिक्त रुपमा पाएको थियो । कम्तीमा पाँच ओभरको खेल हुँदा अतिरिक्त रुपमा मंगोलियाले पाएको सबैभन्दा धेरै रन हो । यसअघि चीनले थाइल्यान्डविरुद्ध २६ रन बनाउँदा नौ रन अतिरिक्त रुपमा पाएको थियो ।