जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार १६:५७

अतिवाद निम्त्याएर एमालेलाई पहिचानविरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ : महासचिव पोखरेल


विराटनगर, असोज १२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानको नाममा अहिले एमालेविरुद्व आक्रमण गर्ने षडयन्त्र भइरहेको बताउनु भएको छ ।

एमाले कोशी प्रदेशको उद्घाटनमा कार्यक्रमामा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको तथ्य राख्नुभयो । ‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गर्नुभयो । उहाँले अहिले क्षेत्रीय दलका नाममा जातजातीको बीचमा बिभाजन गर्न खोजिएको बताउनु भयो ।

‘अहिले जातीय र धार्मिक अतिवाद शुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘अतिवाद निम्त्याएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ । एमाले पहिचान विरोधी पार्टी होइन, सबै जात जाती र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’

महासचिव पोखरेलले एमालेले बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा सरकार फेरबदल भइरहेको र यसले जनताको जनादेशको अपमान भएको समेत बताउनु भयो ।