जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १४:५३

आफै गन बोकेर डेंगू नियन्त्रणमा खटिए महेश बस्नेत


भक्तपुर, भदौ २५ । मुलुकभर डेंगुको संक्रमण बढेपछि सचेतनासँगै नियन्त्रणको अभियान अघि बढेको छ । डेंगुका कारण अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ भने ६१ जिल्लाका झण्डै ७० हजार बढीमा डेंगु संक्रमण रहेको देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा २, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक गरी ६ जनाको मृत्यु भएको जनाएको छ ।

गत वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । भक्तपुरमा समेत डेंगुको संक्रमण देखिएपछि नेकपाका नेता तथा सांसद महेश बस्नेत आफै डेंगु नियन्त्रणमा लाग्नुभएको छ । सांसद बस्नेत आज विहानै औषधिसहितको गन बोकेर डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियानमा जुटनुभयो । आफैबाट अभियान सुरु गर्ने भन्दै सांसद बस्नेत लामखुट्टे मार्ने काममा लाग्नुभएको हो ।

‘डेंगु रोग प्रकोपका रुपमा फैलिंदै गएकाले त्यसको नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट हामी सबैले सहयोग गर्नुपर्छ । सरकार आफ्नो क्षेत्रबाट गर्नुपर्ने गरिरहेको छ । हामीले पनि सरकारलाई साथ दिंदै आ–आफ्नो क्षेत्रमा डेंगु नियन्त्रणका लागि प्रयास गर्नैपर्छ,’ पूर्वमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो ।

बेभ ग्रुपका अध्यक्ष एवं हनुमन्ते नदी सफाई अभियानका प्रमुख अभियन्ता नरेश रन्जितको संयोजनमा संचालन गरिएको डेंगु नियन्त्रणको यस अभियानमा मध्यपुर थिमी नगरपालिका उप प्रमुख अन्जनादेबि मधिकर्मी, वेभ गु्रपका प्रतिनिधि, सूर्यबिनायक नगरपालिकाका सफाई दुतसमेत रहनुभएका चलचित्र निर्देशक मदन घिमिरे, हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक रुद्र पौडेल, पतञ्जली नेपालका महासचिब नबराज काफ्लेलगायतका अभियानका अगुवा अभियन्ताहरु समेत भक्तपुरको मनोहरा खोला आसपास गनको प्रयोगले डेंगु रोग सार्ने लामखुट्टे मार्ने काममा खटिनुभएको थियो । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, डेङ्गुबाट १२ जना बिरामी भएका छन ।