जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार ०९:५६

सरकारको उपहार : उपभोग्य बस्तुमा मूल्यबृद्धिको बहार


काठमाडौं, असोज १४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको निर्णयसँगै खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको दावी छ । चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो ।

विशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ । एक महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।

ग्यासमा मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेपछि उपभोग्य बस्तुको मूल्यमा भारी बृद्धि भएको छ । यो सरकार बन्दा ग्यासको मूल्य १४ सय रुपैया रहेको थियो । अहिले २१ सय १० रुपैयाँ पुगेको छ । यस्तै सरकार बन्दा चामल प्रतिबोरा १६ सय ५० रुपैयाँ रहेकोमा अहिले २५ सय पुगेको छ । यस्तै ३ सय रुपैयाँमा पाइने जिरा १३ सय पुगेको छ घने १४० रुपैयाँमा पाइने दाल २ सय ५० पुगेको छ । यस्तै ७० रुपैयाँमा पाइने चिनी अहिले १ सय ४० रुपैया पुगेको छ । तरकारीको मूल्यमा पनि भारी बृद्धि भएको छ ।

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ ।