जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार १८:२४

कांग्रेसका सवै मन्त्री फिर्ता बोलाउन महामन्त्री गगन थापाको प्रस्ताव


काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गर्नुभएको छ ।

कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गर्नुभएको हो । उहाँले प्रचण्ड नेतृत्वको सरकारको बदमासीको भारी कांग्रेसले बोक्न नसक्ने भन्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न पनि प्रस्ताव गर्नुभयो ।

‘गठबन्धनको राजनीतिमा पनि नयाँ छलफल गरौं । गठबन्धन बन्नसक्छ । उहाँहरु गठबन्धनमा हुनुहुन्छ, मोर्चा बनाउनुभएको छ । दुई अडाई बर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ । पहिला प्रचण्डजी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ,’ थापाले भन्नुभयो, ‘उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं । उहाँहरुलाई एक्लै चलाउँन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं ।’

थापाले सहमतिअनुसार प्रचण्डजी वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने बताउनु भयो । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले सरकार चलाउन पाउनुपर्ने थापाको भनाइ छ । त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने उहाँले बताउनु भयो ।

महामन्त्री थापाले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताउनु भयो । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने पनि बताउनु भयो ।