जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार १८:४२

एमाले उपत्यका प्रदेशले सार्वजनिक गर्यो प्रथम अधिवेशनको लोगो


काठमाडौं, असोज १४ । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले यही असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इञ्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गर्नुभएको हो । सो अवसरमा इञ्चार्ज शाक्यले पार्टीको संगठनात्मक कामलाई प्रणालीगत बनाई आगामी निर्वाचनमा पहिलो दल बनाउने गरी काम गर्न आग्रह गर्नुभयो ।

वर्तमान गठबन्धन सरकारले जनतालाई महँगीबाहेक केही नदिएको भन्दै शाक्यले एमाले नेतृत्वको सरकारले मात्र जनता र देशको पक्षमा काम गर्ने बताउनुभयो । त्यसका लागि आगामी निर्वाचन २०८४ मा एमालेलाई जिताएर सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउन अनिवार्य रहेको उहाँले बताउनुभयो ।

‘हामी देशको नेतृत्वमा जान सक्यौं भने मात्र समृद्ध नेपाल र सुखी नेपाली हाम्रै पालामा सम्भव हुन्छ,’ शाक्यले भन्नुभयो । उहाँले प्रदेश कमिटीको अधिवेशनमा प्रतिनिधि बन्नबाट छुट्नु भएकाहरुलाई पनि पार्टीले उचित जिम्मेवारी दिनेभन्दै निराश नहुन आग्रह गर्नुभयो ।अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ ।

अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने छ । गैर भूगोलका विशेष क्षेत्र पेशा, व्यवसाय, विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई त्यही उचाईंका साथ भव्य, सभ्य र उच्च संस्कारमा सम्पन्न गरी उदाहरणीय बन्नुपर्ने ईन्चार्ज शाक्यले बताउनुभयो ।

प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न जनपरिचालनमा जोड दिनुहुँदै सभागृहमा हुने उद्घाटनसत्रमा सक्रियता साथ सहभागी हुन कमिटी मातहतका सबै सदस्यहरुलाई आव्हान गर्नुभयो ।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी ईन्जार्चहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति रहेको थियो ।