जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार २०:३४

एमाले सचिव योगेशले खोले प्रधानमन्त्रीको चीन भ्रमण घुमघाममै सिमित रहेको तथ्य


काठमाडौं, असोज १४ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको ठोकुवा गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसदसमेत रहनुभएका एमाले सचिव भट्टराईले यस्तो ठोकुवा गर्नुभएको हो । उहाँले चीन भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त गर्न नसकिएको भन्दै भ्रमण घुमघाममा सिमित रहेको तथ्य खोल्नुभयो ।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्योे । जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन । सामान्य खुद्रा, मसिना कुराहरू भए । प्रधानमन्त्रीले तीर्थाटन पनि गर्नुभयो । छुट्टी पनि राम्रै मनाउनु भयो,’ सचिव भट्टराईले भन्नुभयो, ‘तर मुख्यतयाः चीनसँग हाम्रो बीआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो । त्यो चाहिँ देखिने गरी केही पनि भएन । त्यसको अर्थ चीनसँग जुन ढंगले हामीले गम्भीरताका साथ डिलिङ गर्नुपर्थ्यो, त्यो डिलिङ हुन सकेन ।’

उहाँले प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपालमाथि चीनको आशंकालाई हटाउने कामसमेत नभएको बताउनु भयो । ‘नेपाल प्रति चीनका कतिपय आशङ्काहरू छन्। ती आशङ्काहरूमा हामीले विश्वास दिलाउनुपर्थ्यो । त्यो विश्वास दिलाउन प्रधानमन्त्रीको भ्रमणबाट सकियो जस्तो मलाई लाग्दैन,’ भट्टराईले भन्नुभयो । उहाँले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेन्डामा प्रवेश नै नभएको बताउनु भयो ।

‘कताकता सरकार अरू कुनै शक्ति राष्ट्रको प्रभावमा ज्यादा परेर चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकिएको जस्तो देखिन्छ । यो भ्रमणले त्यसमा कुनै सफलता प्राप्त गरेको देखिँदैन । बिआरआई चीनसँगको मुख्य एजेण्डा हो। तर त्यो एजेन्डामा प्रवेश गरेको छैन,’ उहाँले भन्नुभयो, ‘लिपुलेक, लिम्पियाधुरामा भारत र चीनले बसेर गरेको सहमतिमा नेपाललाई इगनोर गरेको छ । त्यो विषय उठाउनुपर्ने छ । हाम्रो चुच्चे नक्साको बारेमा चीनले जारी गरेका आफ्नो आधिकारिक नक्साहरूको बारेमा कुरा उठाउनुपर्ने थियो त्यो उठेको छैन । ताइवान, तिब्बतको मुद्दामा हामीले जसरी विश्वस्त बनाउनु पर्थ्यो चीनलाई, त्यो बनाउन प्रधानमन्त्रीको भ्रमणले सकेजस्तो लाग्दैन ।’