जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १५:०२

सरकार टिकाउन प्रधानमन्त्रीले अपराधीसँग सम्झौता गरे : पृथ्वीसुब्बा गुरुङ


पोखरा, असोज १५ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको बताउनु भएको छ ।

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहमा बोल्दै गुरुङले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताउनु भयो ।

‘ प्रधानमन्त्री प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेका छन,’ गुरुङले भन्नुभयो । उहाँले कांग्रेस जस्तो शोसक र कमिशनखोरसँग मिलेर सरकारले सुशासनको नाममा लुट मच्चाएको तथ्य पनि खोल्नुभयो ।

‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत कमिसनखोर र तस्करहरु समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे,’ गुरुङले थप्नुभयो, ‘यो मुलुकको प्रधानमन्त्रीले शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधि लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’

उपमहासचिव गुरुङले सरकार भ्रष्टहरुको अखडामा परिणत भइसकेकोले ढाकछोपका लागिसरकारले भ्रष्टाचार विरोेधी अभियानको नाममा नौटंकी गरिरहेको बताउनु भयो । गुरुङले माधव नेपाल नेतृत्वको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गर्नुभयो । ‘माधवको पार्टी अब धेरै दिन टिक्दैन, आफ्नो भविश्य सुरक्षित गर्न सवै नेता कार्यकर्ता एमालेमा फर्कनोस,’ गुरुङको अपिल थियो ।