काठमाडौं, असोज १५ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेमा अब कुनै गुट नभएको र अवको कम्तीमा १० बर्ष अध्यक्ष केपी शर्मा ओलीको बिकल्प नरहेको घोषणा गर्नुभएको छ ।
एमाले गण्डकी प्रदेशको अधिवेशनमा बोल्दै उपमहासचिव गुरुङले यस्तो उदघोष गर्नुभएको हो । ‘यो मुलुकमा कम्तीमा अबको १० वर्षसम्म केपी ओलीको कुनै विकल्प छैन । केपी ओली जस्तो सक्षम नेता भएन भने स्वाधीनताको आन्दोलन डगमगिन सक्छ, हाम्रो सुशासन र विकास निर्माण अभियान फेरि पनि अलमलिन सक्छ,’ उपमहासचिव गुरुङले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीलाई अझ बलियो बनाउने, नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने कुरामा फेरी हामी अलमलमा पर्न सक्छौँ, हामीले शक्ति गुमाउन सक्छौं ।’
उहाँले केपी ओलीको नेतृत्वलाई स्विकारेर सबै कम्युनिष्ट पार्टीको झण्डा मुनि गोलबद्ध हुन आवश्यक रहेको तथ्य पनि औंल्याउनु भयो ।सम्बोधनको क्रममा उहाँले पार्टीलाई बलियो बनाएर लैजान सकियो भने एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नभएको प्रष्ट पार्नुभयो । एमाले सकियो भने आफ्नै कारणले सकिने बताउँदै उहाँले पार्टी एक भयो भने एमालेको तागतलाई कसैले हल्लाउन नसक्ने उहाँले बताउनुभयो ।
उहाँले प्रष्ट दृष्टिकोण नभएका पार्टीले मुलुक विकासको लागि काम गर्न नसक्ने बताउनु भयो । गुरुङले अहिले देशमा केही चटके पार्टीहरू आएका टिप्पणी गर्नुभयो । ‘चटकेवालाको राजनीतिक पार्टी खोलिएको छ, जसको मुलुक बनाउने कुनै दर्शन छैन, जसको मुलुक बनाउने कुनै योजना छैन, कुनै कार्यक्रम छैन, कुनै नीति छैन, नीति बिनाको पार्टी, कार्यक्रम बिनाको पार्टी, योजना बिनाको पार्टी, दृष्टिकोण बिनाको पार्टीले यो मुलुकमा कुनै तरकी गर्न सक्छ ? सक्दैनन’, गुरुङले भन्नुभयो ।
दुनियाँमा यस्ता चटकेहरु धेरै मुलुकमा देखिएको भए पनि सस्ता कुरा गर्नेहरू राजनीतिमा धेरै नटिक्ने उहाँले प्रष्ट पार्नुभयो । नीति र दृष्टिकोण नभएकाले युवालाई दिग्भ्रमित बनाएका बताउँदै उहाँले युवालाई यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । युवाको सपना पूरा गर्ने पार्टी नेकपा एमाले नै भएको गुरुङले बताउनुभयो ।
गुरुङले आमाको कोखबाट जन्मिएको बच्चा आमाकै कोखमा फर्कन नसक्ने जस्तै अब लोकतन्त्र फकिएर राजतन्त्र आउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भित्र सुधार गर्नुपर्ने धेरै कुरा भए पनि अब राजतन्त्र फर्कने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
नेपालका कम्युनिष्ट भनिएकाले कांग्रेसका फेर समातेर दलाल पुँजीवादीको संरक्षण गर्ने काम गरेका उहाँले बताउनुभयो । उनीहरूले नेपालमा कम्युनिष्टको बदनाम गराएको गुरुङको भनाइ छ । प्रचण्ड र माधव नेपालले विसर्जनको बाटो लिएको गुरुङले टिप्पणी गर्नुभयो ।
माधव नेपालले पार्टी फुटाएर गएको कुरा प्रमाणित गर्न नसकेको उहाँले बताउनुभयो । माधव नेपालको खुद्रा पसल अब धेरै दिन चल्ने गुरुङले प्रष्ट पार्नुभयो । उहाँले पुष्पकमल दाहालले सरकार बचाउन बारम्बार म्याच फिक्सिङ गरेको बताउनुभयो । सत्ता टिकाउनको लागि ललिता निवास प्रकरणमा प्रचण्डले माधव नेपाललाई जोगाएको बताउँदै गुरुङले अहिले फाइल बन्द गरिएको भए पनि एमाले सत्तामा गएपछि त्यो फाइल खोल्ने गुरुङले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्