जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १९:२६

मनमोहन कार्डियोथोरासिकमा निकालियो प्रधानमन्त्रीको प्लाज्माफेरेसिसका लागि राखिएको ‘सेन्ट्रल लाइन’


काठमाडौं, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसका लागि राखिएको सन्ट्रेल भेनस क्याथेटर निकालिएको छ । आज बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिसका लागि राखिएको सन्ट्रेल भेनस क्याथेटर निकालिएको हो ।
अस्पताल स्रोतका अनुसार सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्लाजाफेरेसिस गर्नका लागि खोलिएको सेन्ट्रल लाइन झिकिएको छ । चिकित्सकका अनुसार सामान्यतया एकपटक खोलिएको सेन्ट्रल लाइन ४५ दिनमा फेर्नु वा झिक्नु राम्रो मानिन्छ ।

प्रधानमन्त्री ओली गत भदौ ५ गते दोस्रोपटक शरिरमा मृगौलासम्बन्धी एन्टिबडीको संख्या बढेपछि प्लाज्माफेरेसिस पद्दतीबाट त्यसलाई निकाल्ने उपचार गर्न सिंगापुर जानुभएको थियो । सिंगापुरमा दुई साता उपचारपछि फर्कनुभएका प्रधानमन्त्री ओलीले आज मनमोहन कार्डियोथेरासिकमा नियमित स्वास्थ्य परीक्षण तथा सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसका लागि राखिएको सन्ट्रेल भेनस क्याथेटर निकालिएको हो ।