जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १०:२३

एसियाली खेलकुदमा नेपाली क्रिकेटरको उत्कृष्ट प्रदर्शन : भारतसँग २३ रनले पराजित


काठमाडौं, असोज १६ । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो । टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो । यो नेपाल र भारतबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो।

मंगलबार पिङफेङमा नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए। कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे। रोहित पौडेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउँदै ३५ रन बनाए। ऐरीले १४ ओभरमा शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए। करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौका र २ छक्का प्रहार गरे।

खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो।बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३(३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिन सफल भए।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो।भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।

यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे। भारतले ९।५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो।

यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे।बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए।