काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकप एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाउनु भएको हो ।
भ्रष्टाचारी, तस्कर र हत्याराहरुको संरक्षण गर्दै सुशासनको गफ नदिन पनि श्रेष्ठलाई आग्रह गर्नुभयो । गृहमन्त्री श्रेष्ठले हेटौंडामा पुगेर आइतबार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएर लागेको बताउनु भएको थियो ।
सुन तस्करीबारेको आयोग बनाऊँ भन्दा गृहमन्त्री नै विरोधमा उत्रिएको आरोप ओलीले लगाउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्वको गठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार कस्ता देखिएका छन्, मिल्न सक्नु, नसक्नु बेग्लै कुरा हो। सरकार चरम गैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी देखिएका छन्। चलिरहेका आयोजना रोकिएका छन्। काम सकेकालाई भुक्तानी दिइएको छैन।’
अध्यक्ष ओलीले मुलुकमा सुशासन नभएको पनि बताउनु भयो ।
अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गरिरहेको बताउनु भयो । उहाँले आफूनिकट पत्रकारलाई सोध्न लगाएर सरकारले कसलाई देखाउन खोजेको भन्दै प्रश्न गर्नुभयो ।
“खोल्नुहोस् न फाइल । खुलेको फाइलको तपार्ईँहरुको यो छ हालत,” उहाँले भन्नुभयो, “ललितानिवासको फाइल खोलिन्छ, त्यो फाइल बन्द गर्न कति गाह्रो भयो है ? कसरी ढाकछोप गर्ने, कसरी जोगाउने ? पसिना आएको त्यतिबेला । रुमालले पुगेन, गम्छा लिएर पसिना पुछ्नु परेको थियो ।”
उहाँले सुन काण्डमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउने भनिए पनि आफ्नो मान्छे राख्नलाई चार सदस्यीय आयोग बनाइएको भन्दै आलोचना गर्नुभयो । “यो सबै प्रतिपक्षलाई तर्साएको हो । मेरो नाममा बारीबारीमा बुख्याँचा राख्नुभएको छ । तपाईँको बुख्याचाले काम गर्दैन । गुच्चा खेलेर आएको हैन, जेल नेल भोगेर जनताको पक्षमा काम गरेर आएको हो,” उहाँले भन्नुभयो ।
अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधमा बोल्ने सांसदहरूको हुर्मत लिने काम गरिएको टिप्पणी गर्नुभएको छ । सरकारले सांसदहरूलाई तर्साउन खोजेको उहाँले बताउनुभयो । सांसद सुनील शर्मालाई सर्टिफिकेट नक्कली भनेर थुनामा राखिएको र सरकारको विरोधमा बोलेका अमरेशकुमार सिंहलाई सम्पत्ति छानबिन गर्छु भनेर तर्साएर के गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो ।
करिब ६१ किलो ‘सुन तस्करी प्रकरणमा जोडिएका मानिसलाई कागज गरेर छाड्ने अनि सांसदलाई हिरासतमा राखेर तर्साउने ?’ भन्दै उहाँले आक्रोश पोख्नुभयो ।
“एकजना सांसदलाई थुनियो । एक क्विन्टल (वास्तविक परिमाण करिब ६१ किलो) सुन अवैध ल्याउनेलाई छोडियो, किन ? सुशासनको अभियान भनेको यही हो ?,” उहाँले भन्नुभयो, “माननीय सुनील शर्मा निर्वाचित जनप्रतिनिधि, उहाँको सर्टिफिकेटमा शंका लाग्यो भनेर हत्कडी लगाएर थुनामा राखियो । सरकारको विरोधमा बोलेबापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइयो, छानबिन गर्छु भनियो । रिस उठ्दैमा जे पनि गर्ने ? छानबिन थुनेर गर्नुपर्छ भनेपछि सांसदहरूको सातो लिने । कोही बोले सुनील शर्मा बनाइन्छ, सांसदहरूको सातो लिन खोजेको हैन ? अनि, सुशासनको कुरा गर्ने ?”
२० वर्ष कैद बस्नुपर्ने हत्याका दोषीलाई छाडिएको भन्दै उनले यसले परिवार र समाजमा त्रास बढाएको बताए ।
“साढे नौ किलो सुन पक्राउ पर्छ, १०० किलो सुन पक्राउ पर्छ, ढाकछोपमा लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउन भन्दा एक महिनासम्म लडाइँ लड्नुपर्छ, के बिग्रन्छ तपाईंको ?,” उहाँले प्रश्न गर्नुभयो, “गफ दिनुहुन्छ हेटौँडा गएर, सुशासनको अभियान हो कि निरन्तर गर्ने हो ? सुशासन दिन छाडेर प्रतिपक्षीले संगठित रूपले विरोध गर्यो भन्नुहुन्छ । म प्रश्न गर्न चाहन्छु, यहाँ, एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पर्यो ? सबै कुरा समाउन किन सकिएन ?”
एसिड आक्रमणकारीलाई कारबाही गर्न आफू प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएको स्मरण गर्दै ओलीले एसिड आक्रमणकारीलाई कडा कारबाहीको प्रबन्ध गरिएको बताउनु भयो।
‘एसिड आक्रमणमा परेकी मुस्कान खातुनको घाउ निको भएको छैन। चार वर्ष नहुँदै सरकारले एसिड आक्रमणकर्तालाई छाडिसक्यो,’ ओलीले भन्नुभयो, ‘अहिले उनी रोएर हिँडेकी छन्। पीडितलाई सरकारले उपचार दिन सकेको छैन।’
प्रतिक्रिया दिनुहोस्